नेपालगञ्ज र सिमरासँगको सीधा उडानले पोखरा बन्यो हवाइ उडानको हब

आश्विन ५, २०७८

पोखरा विमानस्थलबाट नेपालगन्ज र सिमराका लागि हवाई सेवा सञ्चालपछि पोखरा अन्तरप्रदेशीय हवाइ उडानको हब बन्दै गएको छ । भारतसँग नजिकको शहर नेपालगन्ज र सिमराबाट पोखराका लागि सीधा हवाई सेवा सन्चालनमा आएकाले अब पर्यटन प्रबर्द्धनसँगै अन्तरप्रदेशीय व्यापारमा टेवा पुग्ने भएको छ । 

भारतसँग सिमाना जोडिएको प्रदेश दुईको व्यापारिक नाका वीरगन्जसँग नजिक रहेको सिमरा विमानस्थलमा भदौ १६ गते पोखराबाट पहिलो पटक बुद्ध एअरको विमान अवतरण भयो । काठमाडौं बाहेक भरतपुर र भैरहवामा मात्र सीधा उडान भइरहेको पोखरा विमानस्थलबाट बुद्ध एयरले साउन १७ गतेदेखि नेपालगन्जका लागि उडान सन्चालनमा ल्याएको हो । भारतसाग सीमा जोडिएको नेपालगञ्ज र सिमराबाट पोखराका लागि सीधा उडान सन्चालनमा आएपछि भारतीय पर्यटकलाई पोखरा आउन सहज भएको र यसले पोखराको पर्यटन व्यवसायले फड्को मार्ने पर्यटन व्यवसायीको भनाई छ । 

सिमरा, नेपालगन्ज लगायतका क्षेत्रमा उडान भर्नथालेको बुद्ध एयरले प्रदेश एकलाई पोखरासँग जोडन  विराटनगर वा भद्रपुर उडान भर्ने तयारीसमेत गरिरहेको बुद्ध एयरपोखरा प्रबन्धकको भनाई छ । 

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई वर्षदेखि सीमा नाका बन्द हुँदा पर्यटकीय शहर पोखराका होटल तथा पर्यटन व्यवसायी मारमा परेका छन् । पर्यटकीय गतिविधि सुस्ताएका कारण निरास बनेका पोखराका होटल तथा पर्यटन व्यवसायी नेपालकै औद्योगिक नगरी तथा व्यापारिक नाकासँग जोडिएको सिमरा र नेपालगञ्जबाट सीधा पोखराका लागि हवाई सेवा सञ्चालनमा आएपछि पर्यटक भित्रिने आशमा उत्साहित बनेका हुन् ।