सल्यान कपुरकोटका ३५ सय किसान तरकारी खेतीमा,चार महिनामै १२ करोडको आम्दानी

आश्विन ५, २०७८

कोरोना महामारीकाबीच सल्यानको कपुरकोटमा २७ हजार २६ मेट्रिक टन तरकारी उत्पादन भएको छ । तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका  छन् ।

सल्यानको कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ महिनादेखि भदौ अन्तिमसम्म ११ करोड ६६ लाख ९२ हजारको ताजा तरकारी निर्यात भएको हो । गएको वैशाख १५ पछि कोरोना भाइरसका कारण केही समय बजार बन्द थियो, तर तरकारी बारीमै कुहिने अवस्था भएपछि जेठदेखि कृषि उपज बजार सञ्चालनमा आएको थियो । बजार सञ्चानमा आएसागै तरकारी बिक्री हुन थालेको हो ।  

कपुरकोट गाउँपालिकाका मात्रै ३५ सय किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । तरकारीले राम्रो बजार पाएपछि किसान पनि दंग छन् । 

सल्यानमा उत्पादन भएको तरकारी बुटवल, नेपालगञ्ज, दाङ, सुर्खेत, काठमाडौं लगायतका पुग्ने गरेको छ ।