बागमती र प्रदेश १ मा गठबन्धनले छान्न सकेन मुख्यमन्त्री, अल्पमत सरकारकै रजगज

आश्विन ५, २०७८

बागमती र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले अहिलेको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको छ । दुबै प्रदेशमा सरकार अल्पमतमा पर्दा पनि प्रदेशका मुख्यमन्त्री तत्काल विश्वासको मत लिने मुडमा छैनन् भने गठबन्धनले दुवै प्रदेशमा अझै मुख्यमन्त्री तोक्न सकेको छैन  ।

गठबन्धनमा आवद्ध दलका शीर्ष नेताले बागमती र प्रदेश एकमा मुख्यमन्त्री कसलाई बनाउने भनेर निर्णय गर्न नसक्दा यी दुबै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन हतार नगरेका हुन् । बागमती र प्रदेश १ सरकार अल्पमतमा परेपछि मन्त्रिपरिषद बिस्तारसमेत गरेका छन् । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष सहित चार जना पदाधिकारी नियुक्ति गरेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने अन्तिम समयसम्म सरकार जनताका समस्या समाधानका लागि काम गरिरहने बताएकी छन् ।

सरकार अल्पमतमा परेपछि नैतिकताकै आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी गठबन्धनको भनाइ छ । अब पनि  सरकारले विश्वासको मत लिन अधिवेशन नबोलाए बागमती प्रदेशमा अविश्वासको  प्रस्ताव दर्ता गर्ने तयारीमा आफूहरु रहेको गठबन्धनमा आवद्ध दलका नेताको भनाइ छ ।

दुबै प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा शीर्ष नेतृत्वले टुङ्गो लगाउन अझै केही समय लाग्ने देखिन्छ । अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्री को हुने भन्ने प्रस्ताव गर्नुपर्ने सवैंधानिक ब्यवस्थाले विपक्षी गठबन्धनलाई समस्या परेको हो । गठबन्धनको यही कमजोरी बुझेरै दुबै प्रदेशका मुख्यमन्त्री तत्काल विश्वासको मत लिन चाहिरहेका छैनन् ।