स्वदेशी स्याउले बल्ल लिन थाल्यो बजार

आश्विन ५, २०७८

दशैँ नजिकिएसँगै हरेक वर्षझैँ यसवर्ष पनि नेपाली स्याउ काठमाडौं लगायत प्रमुख शहरमा पुगिसकेको छ । वर्षैभरि चिनियाँ र भारतीय स्याउ खाँदाखाँदा दिक्क भएका उपभोक्ताले अहिले आफ्नै देशको स्याउ खोज्न थालेका छन् । हिमाली र उच्च पहाडी जिल्लामा फलेको रेड डेलिसियस, रोयल डेलिसियस , गोल्डेन डेलिसियस , रिचा रेड र जोनाथन स्याउ बजारमा किन्न सकिन्छ । हेर्दा चिनिया स्याउजस्तो चिल्लो नभएपनि  रसिलो र मीठो नेपाली स्याउप्रति उपभोक्ताको आकर्षण बढेको छ । 

स्वदेशी स्याउ काठमाडौमा थोकमा एक सयदेखि खुद्रामा १ सय ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ । नेपालमा उत्पादित स्याउको ब्राण्डिङका लागि स्थानीय किसान र विक्रेता आफैले बजारसम्म ल्याउने गरेका छन् । प्रविधिको विकाससँगै फोन या अनलाईन डेलिभरिको पनि व्यवस्था छ । किसान र स्थानीय बिक्रेता नै बजार बजार पुग्दा उपभोक्ताको रोजाइ बुझ्न सहज भएको उनीहरुको अनुभव छ । नेपालमा जुम्ला, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला, रुकुम पूर्व, बुझाङ, सोलुखुम्बु, रोल्पा, मनाङ वैतडी लगायत जिल्लामा गरि हरेक वर्ष ४५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । तर स्वदेशमा उत्पादन भएको स्याउले मात्र हाम्रो माग थेग्दैन । कृषि मन्त्रालयका अनुसार ४ अर्ब रुपैयाँ भन्दा बढीको ६५ हजार मेट्रिक टन स्याउ चीनदेखि अमेरिकासम्मका मुलुकबाट आयात हुने गरेको छ । ५१ वर्षअघि अर्थात चौंथो पञ्चवर्षीय योजनामा मुस्ताङ र जुम्लालाई  स्याउको पकेट क्षेत्र जिल्ला घोषणा गरिएको थियो । त्यसपछि अन्य सात जिल्लामा स्याउ आत्मनिर्भर कार्यक्रम लागू गरियो । स्याउका विरुवा ३ वर्षसम्म हुर्काउने कृषकलाई प्रति वर्ष प्रति बोट १ सयका दरले नगद अनुदानको व्यवस्था गरियो । यसबाट १० वर्षमा स्याउ खेती गरिएको क्षेत्रफल करिव १८ प्रतिशतले बढेको छ । स्वदेशमै स्याउको उत्पादन बढाउन सरकारी अनुदान र सहयोगसँगै तपाई हाम्रो भूमिका पनि अपरिहार्य छ ।