कोरोनाले थलिएको पर्यटन क्षेत्र

आश्विन ५, २०७८

हिमाल आरोहणका लागि नेपाल विश्वमै प्रसिद्ध छ । अधिकांश विदेशी पर्यटक आरोहणका लागि नै आउने गरेका छन् । तर पछिल्लो दुई वर्ष कोभिड १९ का कारण आरोहण क्षेत्रले निकै निराशा अनुभव गर्यो । गत वर्षभन्दा यो वर्ष अनुमति लिनेको संख्या केही बढि त देखियो तर कोभिड अघिका सामान्य वर्षहरुको तुलनामा यसपाली निकै कम आरोहीले अनुमति लिएका छन् । 

यसपालीको शरद यामका लागि विभिन्न ७ वटा हिमालमा २८ वटा टोलीका २ सय ५३ जनाले आरोहण अनुमति पाएका छन् । अनुमतिवापत विभागमा हालसम्म २ करोड ५२ लाख ९७ हजार ४ सय ८६ रुपैयाँ राजस्व संकलन भईसकेको छ । यसपटक विशेष गरि मनास्लु, कञ्चनजंघा, धौलागिरी, पुथा हिमथुली, मरियाङ लगायत ७ वटा हिमाल आरोहणको अनुमति दिइएको छ । आरोहण अनुमति लिनेमा अधिकांश विदेशी छन् । गत वर्ष जम्मा ५७ जनाले मात्रै हिमाल आरोहण अनुमति लिएका थिए । त्यसअघि सन् २०१९ मा १४ सय ९८ जनाले हिमाल चढेका थिए । आरोहणका लागि बसन्त र शरद ऋतु राम्रो मानिन्छ । तर यस वर्ष शरद याममा पनि आरोहण अनुमति लिनेको संख्या उत्साहजनक छैन ।आरोहण अनुमति पाउन खोपको पूर्ण मात्रा लिएको हुनुपर्ने र पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने वाध्यकारी नियम छ । अझ विदेशी पर्यटक नेपाल आउँदा ७ देखि १० दिनसम्म क्वारेन्टिन बस्नुपर्छ । कोभिडपछिको नियम र  'अनअराईभल भिसा' नभएका कारण पर्यटक संख्या कम भएको व्यवसायी बताउँछन् ।कोभिडको समयमा सरकारले आरोही मात्रै होइन कुनै पनि पर्यटकलाई आकषिर्त गर्ने विशेष प्याकेजको व्यवस्था गरेको छैन । हिमालको उचाई चुम्न रुचाउने पर्यटकलाई आकर्षित गर्न विशेष छुटसँगै आत्मिय आतिथ्य र आकर्षक प्रचारप्रसारको खाँचो छ ।