राज्य सत्ता र दलीय नेतृत्वमा दशकौं पुराना नेताको हालीमुहाली

आश्विन ५, २०७८

सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले महाधिवेशनको संघारमा छन् । माओवादी केन्द्रले समेत राष्ट्रिय सम्मेलन गर्दैछ । तर यिनै दलको नेतृत्व भने ७० बर्ष आसपासको बुढ्यौलीले कब्जा गरेको छ । आजीवन आफू मात्रै सत्ता र शक्तिमा रमाउने चाहानाले न नेताहरु नेतृत्व छाड्न चाहन्छन् नत दलहरु उमेर हदलाई पार्टी विधानमै संस्थागत गर्न तयार छन् । के राजनीतिमा बाँचुन्जेल पद चाहिने हो ?

नवौं महाधिवेशनबाट नेतृत्वका लागि ७० वर्षको उमेर हद कायम गर्ने निर्णय गरेको नेकपा एमालेले त्यसको कार्यान्वयन भने गरेन् । अहिले फेरि मंसिरमा हुने महाधिवेशनबाट उमेर हद लागू गर्ने भन्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा ७० बर्ष पुग्दैछन् । त्यसअगावै उनी फेरि अध्यक्ष बन्ने दाउमा छन् । उमेर हद कार्यान्वयन भयो भने यो महाधिवेशनपछि एमालेका उपाध्यक्षहरु र महासचिव कोही पनि अध्यक्षका दावेदार हुन पाउनेछैन् । किनभने उनीहरु सबैजसो ६५ बर्ष माथिका हुन् । त्यो अवस्थामा एमाले नेतृत्व ६० बर्ष आसपासको दोश्रो पुस्तामा झर्नेछ । 

नेपाली कांग्रेसमा त उमेर हदको बिषयले पार्टी प्रकृयामा अहिलेसम्म प्रवेश समेत पाएको छैन् । अहिलेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ७२ बर्षका भैसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उनका समकक्षी नै हुन् । पाँच पटक प्रधानमन्त्री भैसकेका सभापति देउवा दोहोरिने दाउमा छन् भने पौडेल आकांक्षी हुन् । देउवा वा पौडेलले कांग्रेसको नेतृत्व पाए भने ८० बर्ष आसपाससम्म उनीहरुकै हालीमुहाली हुनेछ । 

त्यसो त १५ बर्ष नेतृत्व चलाएका ६८ बर्षका माधवकुमार नेपाल अहिले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका छन् । त्यही उमेरका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त झन पार्टी नेतृत्व गरेको ३० वर्षभन्दा बढि भैसक्यो । अहिले पनि माओवादीमा उनलार्इ चुनौति दिने कोही देखिन्नन्। 

राष्ट्रिय जनमोर्चामा चित्रबहादुर केसी र मोहनविक्रम सिंहदेखि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई धेरैले आजीवन अध्यक्ष भनेर कटाक्ष गर्छन् । आजीवन पद चाहिने र नेतृत्वमा पुगेपछि बुढ्यौली उमेरमा पनि नछाड्ने प्रवृतिले राजनीति संस्कार र नेतृत्व हस्तान्तरणलाई भने झन कमजोर बनाएको छ ।  विधि लल्याउने र व्यक्तिगत दाउपेचमा नेतृत्व हत्याउने प्रवृति नेपाली राजनीतिको रोग नै हो । त्यसको प्रभाव दलमा मात्रै हैन् राज्य सञ्चालनमा समेत परेको छ । हुन त देश बदल्ने इच्छाशक्ति भए उमेर नै सबैथोक नहोला । तर बाँचुन्जेल पद चाहिने अनि नेपाल र नेपाली जनताको भविश्य बनाउन पनि नसक्ने नेतृत्व सत्ता र शक्तिमा रहँदाको दुर्गति छर्लङ्ग छ ।