प्रमुख प्रतिपक्ष एमालेको विरोधकै बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

आश्विन ५, २०७८

संघीय संसद त सत्तापक्ष र प्रमुख प्रतिपक्षको प्रतिशोधको मारमा परेको छ । एमालेले सभामुखको भूमिकामा प्रश्न उठाएर सदनभित्रै मूर्दावादका नारा लगाइरहँदा सत्तापक्षले पेलेरै बजेटको प्रकृया अघि बढाएको छ । तर दिनदिनै अवरोध हुँदा सदनमा पेस भएका ५० भन्दाबढी विधेयक रोकिएका छन् । त्यसको असर आम जनतामा परिरहेको छ । 

सरकारले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश ल्याएसँगै भदौ २३ गतेबाट सुरुभएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष एमालेले अवरोध गर्दै आएको छ । सुरुका दुइवटा बैठकमा त एमाले सांसदहरु आक्रमक शैलीमा पेश भए । त्यसयता मत्थर भएपनि उसको अवरोध कायमै छ । 

आफ्नो दल विभाजनमा सघाएको भन्दै एमालेले मुख्य तारो सभामुख अग्नि सापकोटालाई बनाएको छ । जबकी त्यो मुद्दा अदालतमा छ । त्यसैले सभामुखले पनि  कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखी  कार्यसूची तोक्दै आएका छन् । तर सहमति र संवादमा दुबै पक्ष गम्भीर छैनन् । एमाले त झन संवादमा बस्न समेत इच्छुक देखिन्न । सरकारका तर्फबाट भएका प्रयासले पनि परिणाम दिन सकेको छैन् । 

संसदको अवरोध र प्रतिशोधको राजनीतिले संसदीय अभ्यास र मर्यादालाई नै आँच पुर्याएको छ । गतिरोध तोड्न छाडेर समस्या बल्झाई रहने दलहरुको यस्तो ब्यवहारलाई क्षम्य मान्न सकिन्न ।