दक्षिणी सीमास्थित चौकीमा खटिन प्रहरीमा तँछाडमछाड

श्रावण १४, २०७८

नेपाल भारत बीचको व्यापारिक  मार्ग  जमुनाह रुपैडिहा नाकामा सुरक्षा निगरानीका लागि राखिएको प्रहरी चौकीका इन्चार्जको खटनपटनसमेत माथिल्लो तहबाट हस्तक्षेप हुने मात्र होइन, प्रहरी नायव महानिरीक्षकले नै आफूले चाहेको इन्चार्ज राख्ने प्रवृति वर्षौंदेखि दोहोरिंदै आएको छ । जसका कारण नाकाको चौकीमा बस्ने असइले जिल्ला प्रहरी प्रमुखलाई नै बेवास्ता गर्दा चेनअफ कमाण्डमा नै चुनौती देखिएको छ ।

जमुनाह नाकास्थित यो प्रहरी चौकीमा जिल्ला प्रहरीको कार्य क्षेत्रमा हस्तक्षेप गर्दै  प्रहरी नायव महानिरीक्षकले आफूले चाहेको इन्चार्ज  खटाउने  गरेको नयाँ चलन भने होइन । यो त परम्परा नै भइसकेको  छ । सीमा क्षेत्रमा यस्तै चौकीमध्ये बर्दियाको जुमनी पनि हो  ।  यी मार्गबाट अहिले पनि अबैध धन्दा हुँदैआएको छ ।  माथिल्लो तहका प्रहरी अधिकारीले तल्लो तहको क्षेत्राधिकारमाथि हस्तक्षेप हुनेगरी  आफ्ना अनुकुलका  इन्चार्ज  तोक्ने गरेका छन् । अहिले पनि ५ नम्बर प्रदेश  प्रहरी  प्रमुखको फेरबदल भएपछि  खास गरि जमुनाहा नाकाको इन्चार्ज हत्याउन शक्ति संघर्ष भएको छ । तर प्रहरीको जिल्ला नेतृत्व शक्तिका आडमा नभइ संगठनको आवश्यकताका आधारमा मात्रै खटनपटन गर्ने दाबी गर्छ । 

 

सीमा नाकामा मात्रै होइन । जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरीले तस्करसग साँठगाँठ गरि  संगठनको छवी नै ध्वस्त पार्ने काम गरे । त्यस्तो काम गर्ने मध्ये करिब ५० जना  शुद्धीकरण  तथा आन्तरिक कारबाहीको प्रकृयामा छन् । घुमुवा प्रहरीले लुट मच्चाएकाले जिल्ला प्रहरी कार्यालय भने अहिले सादा पोशाकमा अब प्रहरी पहिचालन नै नगर्ने पक्षमा देखिएको छ । 

सीमा नाका, भन्सार र राझा विमानस्थल जस्ता सुरक्षा दृष्टिले अति संवेदनशील  क्षेत्रमा  शक्ति र भक्तिका आधारमा  इन्चार्ज तोक्ने  परम्परा  तोडेर योग्यता, क्षमता र  दक्षता भएका  प्रहरीलाई जिम्मेवारी दिने हो भने अध धन्दामा थोरै भएपनि अंकूश लगाउन सकिन्छ । यस तर्फ पनि बेलैमा ध्यान दिने हो कि ?