पुरानो चलन भत्काउँदै आमाको काजकिरियाँमा छोरी

श्रावण १३, २०७८

बाबुआमाको मृत्युपछि काजक्रिया सन्तानमध्ये छोराले गर्ने चलन छ । तर पछिल्लो समय छोरीले नै छोरा जसरी कपाल मुण्डन नै गरेर काजक्रिया गर्न थालेका छन् । गोरखा देउरालीको पुरनडिहीमा पनि आमाको मृत्युपछि छोरीले नै कपालमुण्डन गरेर आमाको काजक्रियामा बसेका छन् ।

गोरखा नगरपालिका वडा न. १३ पुरनडिहीकी ४३ वषर्ीय इन्दिरादेवी नरालको गत असार ६ गते कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा उपचारका क्रममा निधन भयो । अहिले उनकी ३ जना  छोरी आमाको काजक्रियाका लागि कोरामा बसेेका छन् । 

आमाबावुसहित परिवारका ५ जना नै कोरोना संक्रमित भए । संक्रमित आमा इन्दिरादेवी र बावु गणेशप्रसाद नरालको स्वास्थ्य अवस्था जटिल बनेपछि प्रहरी अस्पताल काठमाडौमा भेन्टीलेटरमा राखेर उपचारको क्रममा आमाको निधन भयो । त्यतिबेला बावुको अवस्था पनि चिन्ताजनक भएकाले उनलाई आमाको निधन भएको खबर साउन ३ गते मात्र सुनाइयो । 

आमाको काजक्रियामा बसेका यी ३ दिदी बहिनीलाई  धर्मशास्त्र अनुसार कर्मकाण्डको बाटो देखाउने गाउाका पुरोहित र स्थानीयले समेत साथ दिएका छन् । 

गणेशप्रसाद नरालका ३ छोरी मध्ये जेठी अर्चना स्नातक, माहिली अर्पणा कक्षा १२ र कान्छी आशिका कक्षा १० मा अध्ययनरत छिन् । गोरखाका  यी तीन दिदीबहिनीले छोरा र छोरीमा कुनै विभेद छैन भन्ने सन्देश हाम्रो समाजलाई दिएका छन्  ।