भदौमा कांग्रेस महाधिवेशन हुन कठिन

श्रावण १३, २०७८

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको बाँकी विवादमा सहमति खोज्न छानविन समितिलाई थप एक दिन समय दिएको छ । तर विवादबारे पार्टीले निर्णय गर्ने भन्दै सदस्य संख्या तोकेरै मंगलबार प्रतिवेदन बुझाएको समितिले बिहीबारसम्ममा समस्या समाधान गर्ने सम्भावना न्यून छ । बरु क्रियाशील सदस्यता विवादलाई देखाएर विकल्प र दाउपेचका खेलले तोकिएको समयमा महाधिवेशन नगर्ने परिस्थिति बन्दै छ ।

पाँच महिनाको रस्साकस्सीपछि पनि मुख्य विवादलाई थाँती राखेरै छानविन समितिले मंगलबार ८ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्यको विवरण कांग्रेस नेतृत्वलाई बुझाएको थियो । तर त्यसमा तर बारा, सप्तरी, धनुषा-४ र सर्लाही-२ को बिबाद नटुंग्याईको र विधि नपुगेको भन्दै कार्यदलकै सदस्य कल्याण गुरुङले असहमति जनाएका थिए । त्यही कारण पनि बुधबार बसेको पदाधिकारी बैठकले सहमति खोज्न बिहिबारसम्मको लागि समय दिएको हो । 

संवैधानिक बाध्यता भएकोले पनि पूर्व निर्धारित मिति अनुसार कांग्रेसको १४ औं महाधिवेशन हुन अब एक महिनामात्रै बाँकी छ । तर क्रियाशील सदस्यता विवादकै कारण वडा, पालिका र प्रदेश तहको निर्वाचन नै प्रभावित भएको छ । भदौ १६ देखि १९ गतेसम्म गरिने केन्द्रीय महाधिवेशन बाहेक तल्लो तहका सबै निर्वाचन अहिले स्थगित गरिएको छ । तर नयाँ तालिकाबारे कांग्रेस पदाधिकारीहरु पनि टुंगोमा  पुग्न सकेका छैनन् । 

खासगरी अहिले सत्तामा भएकोले सभापति शेरबहादुर देउवा पक्ष महाधिवेशन गरेर पार्टीमा बलियो बन्ने दाउमा छ । तर संस्थापनले महाधिवेशन प्रभावित पार्नसक्ने डरले सशंकित वरिष्ठनेता रामचन्द्र पौडेल पक्षले विकल्पका कुरा उठाएर मोलमोलाई र सम्झौताबाट आफ्नो हिस्सा खोज्न भित्री खेलहरु पनि थालेको छ । कोभिड काललाई शुन्य समय मान्ने, भदौंमा प्रकृया थालेर नेतृत्व चयन पछिगर्ने, फोरम लोकतान्त्रिकसँगको एकतालाई देखाएर त्यसपछिको पाँच बर्षे अबधी दावी गर्ने लगायत संविधानको आफू अनुकुल व्याख्या गर्दै महाधिवेशन सार्ने प्रपन्च समेत कांग्रेसभित्र भैरहेको देखिन्छ ।