स्यानिटरी ल्याण्डफिल्ड साइटको काम तीन वर्षमा पनि अधुरै

श्रावण १३, २०७८

काठमाडौं उपत्यकाको फोहर वैज्ञानिक तवरले व्यवस्थापन गर्न नुवाकोटकको बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट दुई वर्षभित्र बनाइसक्ने भनिएको थियो । तर निर्माण थालेको तीन वर्ष नाघिसक्दा पनि काम सकिएको छैन । अर्कातिर अहिले फोहर व्यवस्थापन गरिंदै आएको सिसडोलमा वर्षायाममा आवागमन सहज नहुँदा संघीय राजधानीको फोहर व्यवस्थापनको पुरानै समस्या दोहोरिएको छ ।

सिसडोललाई सुरुमा अस्थायी डम्पिङ साइटका रुपमा मात्र प्रयोग गर्ने भनिएको थियो । तर उपत्यकाको फोहर फाल्न थालेको १६ वर्ष भयो । अर्कातिर फोहर वैज्ञानिक रुपःमा व्यवस्थापन गरिएको छैन । जसका कारण त्यहाँका स्थानीयले बेलाबखत विरोध गर्दै आएका छन् । दीर्घकालीनरुपमा  फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको सहयोगमा २०७५ मा बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण थालियो। २ वर्षभित्र बनाइसक्ने गरी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का दिइएको थियो । विभागीय मन्त्री र काठमाडौं महानगरका प्रमुखले बेलाबेला निर्माणस्थलको अवलोकन गरी त्यसलाई प्रयोगमा ल्याउने मिति तोक्दै आएका छन् । तर निर्माण कहिले सम्पन्न हुन्छ भन्ने जवाफ ती निकायसँग छैन । 

सिसडोल ल्याण्डफिल साइट २०६२ मा २ वर्षका लागि मात्र फोहर व्यवस्थापन गर्न मिल्ने गरी तयार गरिएको थियो ।  दीर्घकालीनरूपमा फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा त्यतिखेरै १७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। फोहरबाट निक्लेको पानी व्यवस्थापनका लागि पोखरी र खोलामा बाँध बाँध्ने जिम्मेवारी रहेको सहरी विकास मन्त्रालयले कोभिड, निर्माण सामग्री अभाव, ढुवानीमा समस्याजस्ता बहानाबाजी गर्दै आएको छ ।   

सामान्य अवस्थामा सिसडोलमा दैनिक डेढ सय गाडीमा फोहर लैजाने गरिएको थियो । तर फोहरमाथि बनाइएको बाटो वर्षाका कारण भासिएकाले अहिले ५० भन्दा बढी गाडी पठाउन सकिँदै । यही कारण चोकचोक र गल्लीगल्ली प्रदूषित हुने गरी राजधानीमा फोहरको थुप्रो बढेको छ ।