आलु राम्रो फसलले पाँचथरका किसान हर्षित, प्राविधिक सहयोग माग

श्रावण १२, २०७८

पाँचथरका उच्च पहाडी क्षेत्रमा यतिबेला किसान आलु खन्न र खनेको आलु भण्डारण गर्न ब्यस्त छन । यो वर्ष आलुको उत्पादन राम्रो भएपनि वर्षाका कारण २५ प्रतिशतभन्दा बढी कुहिएर नष्ट भएको छ ।

पाँचथरसँगै अन्य पहाडी भूभागका किसानहरु आलु भित्र्याउन लागिपरेका छन् । आलु उत्पादन राम्रो भएको छ तर लगातारको वर्षाले आलुलाई क्षति पुर्‍याएको छ । 

पाँचथरको फिदिम नगरपालिकासँगै फाल्गुनन्द,याङवरक र फालेलुङ गाँउपालिका आलु खेतीका पकेट क्षेत्र हुन् । यी स्थानीय तहका उच्च पहाडी भेगका किसानको प्रमुख आयस्रोत नै आलु खेती हो । पहाडी क्षेत्रमा उत्पादन भएको आलु तराईसम्म पुग्ने गरेको छ । आलु खेतीमा लागेका किसान यस वर्ष राम्रो उत्पादन भएपछि हर्षित छन् । 

एक नम्वर प्रदेशमा ६४ हजार ६ सय १३ हेक्टरमा आलु खेती हुने कृषि तथा सहकारी मन्त्रालयसँग तथ्यांक छ । पाँचभरमा मात्रै वार्षिक ३३ हजार ९ सय ३८ मेट्रिकटन आलु उत्पादन हुँदै आएको छ । प्रमुख आयस्रोतको रुपमा रहेको आलु बालीलाई कृषि ज्ञान केन्द्रबाट प्राप्त हुने सहयोग भने नगण्य किसानसम्म मात्रै पुगेको छ । 

पाँचथरमा एमएस, झ्याले, होलाइण्ड र रातो बिटे सहित १० किसिमका आलु उत्पादन हुने गर्छन । आलु खेतीमा आधुनिकीकरण र प्राविधिक सहयोग गरिदिन किसानहरुको माग छ ।