कैलाली चुरेका बालबालिका एक वर्षयता पढाइबाट वञ्चित

श्रावण १२, २०७८

विगत एक वर्षदेखि पहिरोले विस्थापित भइ, जगंलमा बस्दै आएका कैलालीको चुर क्षेत्रेका २ सय ८० परिवार अझै पुनर्जिवित  हुन सकेका छैनन् । पहिरोले वर्षेनी बस्ती बगाएर बस्न लायक स्थान नभएपछि एक वर्ष अघिको वर्षामा बिचल्ली भएको थियो । त्यस यता कहिले राजमार्ग छेउ, कहिले सामुदायिक वन त कहिले राष्ट्रिय वनमा उनीहरूले दैनिकी गुजारिरहेका छन् । एक सय  १० जना बालबालिका पढाइबाट वञ्चित भएका छन् । विस्थापित परिवारले राजनीतिक दलका नेतासँग  स्थायी बसोबासको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

उमेरले जीवनका साढे ६ दशक काटिसकेका खड्गबहादुर बोहरा ९ जनाको परिवारसहित कैलालीको चुरे गाउँपालिकामा पर्ने राष्ट्रिय वनमा बस्दै आएका छन् । जहाँ चुरेकै ६ वडाका २ सय ८० परिवार बसिरहेका छन् । चुरेमा हरेक वर्षा पहिरोकै उस्तै पिरलो दोहरिन थालेपछि बोहरा बस्ती नै छोड्ने निर्णयमा पुगे । तर कहाँ जाने भन्ने टुङ्गो नै नहुँदा बस्ती छोडेका उनीहरूले विगत एक वर्षदेखि गाँस, बास र कपासकै लागि भौातारिनुपरेको छ ।

चुरेबाट आएर उनीहरू कैलालीको गौरीगङ्गास्थित सामुदायिक वनमा बसेका   थिए । त्यहाा स्थानीयले बस्न नदिएपछि विगत ६ महिनादेखि उनीहरू यो जङ्गलमा बस्दै आएका छन् । तर यहाँ पनि पानीको बहाव बढेपछि नदी गाउँमा पस्ने जोखिम छ । आफूहरुलाई स्थायी बसोबासका लागि कसैले पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।  

पहिरोले विस्थापित हुनुपरेपछि ६ वडाका १ सय १० जना बालबालिका पढाइबाट वञ्चित भएका छन् । बस्ने स्थायी ठेगाना नै नहुँदा र नदी तर्न समस्या भएपछि शिक्षा र स्वास्थ्य सेवाबाट समेत उनीहरुले वञ्चित हुनुपरेको छ । 

चुरे गाउँपालिकाले पहिरोबाट विस्थापितलाई स्थानीय तहको बजेटबाट अहिले बसेको जङ्गलमा राख्न बाहेक थप व्यवस्थापनको पहल गर्न नसक्ने बताइसकेको छ । प्रदेश तथा संघका मन्त्री र सांसदले भने भोटको राजनीतिका लागि बाहेक चुरेवासीको पीडामा साथ दिने विषयमा देखेको पनि नदेखेझैं गरेर बसेका छन् ।