जसपाको आधिकारिकता अध्यक्ष यादव पक्षले पायो, ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाको साथ

श्रावण ११, २०७८

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव नेतृत्वको खेमाले पाएको छ ।

निर्वाचन आयोगले आज पार्टीका दुवै खेमाका केन्द्रीय कार्यकारिणी सदस्यहरूको हस्ताक्षर सनाखतपछि यादव पक्ष आधिकारिक रहेको निर्णय दिएको हो ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समुहमा १६ जना  उभिएका छन् । ठाकुर पक्षले अब अर्को दल दर्ता गर्न सक्ने आयोगको निर्णय छ ।

जसपाका अध्यक्ष यादवले भने ठाकुरसहितका नेताहरुले विगतका कामलाई गलत भएको भनि  आत्माआलोचनासहित फर्किए पार्टीमा ठाँउ दिने बताएका छन् । 

ठाकुर पक्षले भने आयोगको निर्णयप्रति असहमति जनाउँदै कानुनी उपचार खोज्नेसहित समुहभित्र आन्तरिक छलफल गरेर नयाँ दल दर्ता गर्नेसम्मको रणनीति अपनाउने प्रतिक्रिया दिएको छ । 

जसपा कार्यकारिणी  सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । कैलालीको टीकापुर नरसंहार घटनामा दुइ तहका अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका चौधरी आफ्नो मत जाहेर गर्न निर्वाचन आयोगमा भने पुगेका थिए । यसअघि ठाकुर पक्षमा रहेका राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमा हस्ताक्षर गरेका थिए ।