कांग्रेसको १४ औं महाधिवेशन अझै अनिश्चित

श्रावण ११, २०७८

आफुलाई सबै भन्दा लोकतान्त्रिक पार्टी दावी गर्ने नेपाली कांग्रेसको १४ औं महाधिवेशन साढे पाँच बर्ष वित्तै लाग्दा पनि अनिश्चित बनेको छ । पार्टी विधान अनुसार महाधिवेशन चार वर्षमा गर्नुपर्छ । संविधानमा भने साढे पाँच वर्षमा महाधिवेशन नगरे पार्टी दर्ता नै खारेज गर्ने व्यवस्था छ । कांग्रेस महाधिवेशनबारे अन्योल बढदै जाँदा पार्टीको लोकतान्त्रिक अभ्यासमाथि नै औँला पनि उठन थालेको छ ।

संवैधानिक व्यवस्था अनुसार हरेक साढे ५ वर्षभित्र राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्छ । कांग्रेसले चार वर्षको कार्यकाल थप गर्दै साढे पाँच बर्ष पुर्याइसकेको छ । त्यसैले आगामी भदौ १९ भित्र कांग्रेसले महाधिवेशन गर्नैपर्ने बाध्यता छ । तर कृयाशिल सदस्यको किचलोले भदौ १६ देखि हुने केन्द्रिय महाधिवेशनबाहेक वडा, क्षेत्र, गाउँ-नगर, जिल्ला र प्रदेश तहका सबै अधिवेशन स्थगित गरिसकेको छ । सबै तहका अधिवेशन स्थगित गरेर केन्द्रिय महाधिवेशन हुने स‌भावना रहन्न । एउटा लोकतान्त्रिक पार्टीलाइ महाधिवेशन गर्न समेत गार्हो पर्नु भनेको लाजमर्दो अवस्था हो । यसलाइ कांग्रेसकै नेताहरुले पनि पार्टी नेतृत्वको अक्षमताका रुपमा बुझेका छन् । 

आगामी भदौं १९ भित्र कांग्रेसले महाधिवेशन गर्न नसके पार्टी दर्ता नै खारेज हुने संबैधानिक व्यवस्था अहिले कांग्रेसका लागि टाउको दुखाई बनेको छ । महाधिवेशनमा जाँदा नेतृत्व अर्कैले हत्याउने डर र नेतृत्व आफैँमा रहनु पर्छ भन्ने मनोविज्ञानका कारण विधि विधान अनुसार पार्टी चल्न नसकेको धारणा स‌ंस्थापन विरोधी खेमाको छ । 

पार्टी नेतृत्व पंतिको अक्षमताका कारण क्रियाशील सदस्यता विवाद सुल्झाउन नसक्दा महाधिवेशन अनिश्चित बनेको हो । यद्यपि संस्थापन पक्ष भदौमै अधिवेशन हुन्छ भन्ने रटान रटिरहेको छ । तर यो सँगै महाधिवेशनको विकल्पको खोजीमा बहस गर्न थालिएको छ । विधि विधान अनुसार पार्टी नचल्ने र अन्तिम समयमा विकल्प खोजिनुले लोकतन्त्रको पहलेदार ठान्ने कांग्रेसमाथि नै प्रश्न उठेको छ ।