एमालेमा संस्थापन र असन्तष्ट पक्षको आ-आफ्नै रणनीति

श्रावण ११, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट हटेपछि अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । ओली सत्तामा हुँदासम्म किनारामा पुर्याईएका वरिष्ठ नेता माधवकुमार नेपाल भने बलशाली बन्दै गएका छन् । परिणामस्वरुप अध्यक्ष ओली असन्तुष्ट खेमालाई मिलाउने पक्षमा छन् भने विपक्षी गठबन्धनमा लागेर पार्टीकै सरकार ढालेको आरोप खेपेका वरिष्ठनेता नेपाल संस्थापन पक्षलाई कमजोर बनाउँदै शक्तिमा फर्कने रणनीतिमा देखिन्छन् । 

सत्तामा छँदा सरकार र पार्टी दुबैतिर एकलौटी गर्दै आएका एमाले अध्यक्ष ओलीले बालुवाटार छाडेर बालकोट पुग्दा घरको बार्दलीबाट वरिष्ठ नेता नेपाललाई पार्टीमा ठाउँ नदिने चेतावनीसहित ‘गद्दार’भनेका थिए । तर विहिबार ललितपुरमा उनले पार्टीमा फर्के आम माफी दिने घोषणा गरे । ओलीको त्यो घोषणालाई वरिष्ठ नेता नेपालले राजाको हुकुमी शैली भन्दै इन्कार गरिदिए । हुन पनि सत्ताबाट बाहिरिएपछि ओली पार्टीभित्र समेत कमजोर बन्दै गएका छन् भने नेता नेपाल संस्थापनलाई गलाएर पार्टीमा हाबी हुने रणनितीमा देखिन्छन् । नेपाल पक्षको प्रयास अहिले यतैतिर उन्मुख छ ।

फागुन २८ मा अध्यक्ष ओलीको एकलौटी बैठक र त्यसयता एकअर्कालाई गालीगलोज गर्नेदेखि  नेताकार्यकर्ता सडकमा उतारेर शक्ति प्रर्दशन गर्नेसम्मका शैली दुबै पक्षले अपनाइसकेका छन् । तर अहिले अध्यक्ष ओली पार्टी विभाजनको अपजसबाट जोगिन  असन्तुष्ट पक्षलाइ मिलाएर फेरि शक्तिशाली बन्न खोजिरहेका छन् । यद्यपी ओली र नेपालका आआफ्नै दाउ र राजनीतिक घटनाक्रम हेर्दा समिकरण बदलिए पनि सहकार्य र पुनर्मिलन भने अझै टाढै लाग्छ । अध्यक्षको निषेध र कारवाही तथा असन्तुष्ट खेमाले पार्टी निर्देशन विपरित फ्लोरक्रस गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउनेसम्मका गतिविधिले एमालेभित्रको अविश्वास र टकरावलाई छताछुल्ल पारेको छ । त्यसैले अहिले दुई पक्ष जितको दाउपेचमा छन र  पार्टी एकता स‌ंशयमा छ ।