महामारीको जोखिम बेवास्ता गरी राजनीतिक दलहरु शक्ति प्रदर्शनमा 

श्रावण १०, २०७८

पछिल्लो डेढ वर्षदेखिको महामारीका कारण धेरै उद्योग, व्यवसायदेखि आमनागरिकका दैनिकी अस्तव्यस्त भएका छन् । महामारीबाट जोगिँदै जीविका सहज बनाउन अनेक प्रयास भइरहेका छन् । तर, यस्तो समयमा पनि राजनीतिक दलका गतिविधि भने उही पुरानै शैलीका छन् । सडकमा अनावश्यक भीड जम्मा गरेर शक्ति, दम्भ र आडम्बर प्रदर्शन गर्नमै राजनीतिक नेतृत्व रमाइरहेको छ ।

शनिबार दिउँसो काठमाडौँमा नेकपा एमालेनिकट युर्थ फोर्सले ठूलै भीड सडकमा जम्मा गरेको थियो । अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भन्दै आयोजना गरिएको कार्यक्रममा उनी त सहभागी भएनन् तर सडकको तामझाम भने हेर्नलायक थियो । सडकमा देखिएका यी ताँती बानेश्वरस्थित एक पार्टी प्यालेसमा गएर सभामा परिणत भएको थियो । यसअघि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले बालकोट घर सर्दा सयौँको संख्यामा गाडी र मोडरसाइकल सहितका कार्यकर्ताको लाइन लागेको थियो । उता एमालेकै माधव नेपाल समूहले पनि अखिल फोर्सदेखि युथ भोलिन्टिएर गठनका नाममा उस्तै भिडभाडपू्र्ण गतिविधि गरिरहेको छ । नेपाली कांग्रेस त झन् महाधिवेशनको चटारोमा रहेकाले कार्यकर्ता भेला र सभा सामान्य भइसकेका छन् । माओवादीले पनि सकेका राजनीतिक गतिविधि गरिरहेकै छ । यी रहेक दल र नेताले कति धेरै मान्छे भेला पार्ने, कति धेरै तामझाम देखाउने भन्ने अप्रत्यक्ष होड नै देखाइरहेका छन् । उनीहरूका क्रियाकलापमा न कुनै रचनात्मकता छ, न त समयको संवेदनशीलता नै । यी भीडभाडपूर्ण गतिविधि महामारी फैलाउन र मुलुकलाई अरू कठिन अवस्थातिर धकेल्न उद्धत छन् । 

प्रशासनले अहिले पनि २५ जनाभन्दा बढी भेला हुन, सभा, जुलुस गर्न र पार्टी प्यालेस खोल्न समेत नपाउने नियम जारी गरेको छ । महामारी नियन्त्रणका लागि तोकिएका यी कुनै पनि मापदण्ड पालना नगरी शक्ति प्रदर्शनका नाममा पुरानै शैलीका गतिविधिमा राजनीतिक अगुवाहरू रमाएको देखिन्छ । यी गतिविधि देशको आवश्यकता के हो, जनताका अप्ठ्यारा के छन् भन्नेभन्दा पनि दलहरुले बाहुबलकै प्रयोग गरेर भए पनि राजनीतिमा उपस्थिति देखाउनुपर्छ मानसिकताबाट प्रेरित देखिन्छन् । नियम उल्लंघन गर्नु, जनसाधारणलाई त्रासमा राख्नु र प्रणाली भत्काउनुलाई बहादुरी ठान्ने मानसिकता राजनीतिक नेतृत्वमा रहेसम्म यस्तै गतिविधिले प्रश्रय पाइरहनेछन् ।