तालिमबाट प्राविधिक ज्ञान लिएका पोखराका युवाको उद्यम

श्रावण ७, २०७८

स्वदेशमै जागिर नपाइएको भन्दै धेरै युवा रोजगारीका लागि विदेश जाने गर्छन् । तर आँट, आत्मविश्वास र लगाव भए स्वदेशमै लोभलाग्दो कमाइ गर्न सकिन्छ भन्ने पोखराका केही युवा उद्यमीले देखाएका छन् ।

पूर्वी नवलपरासीको गैंडाकोटकी यी युवती मनकुमारी आलेमगरलाई हेरौ न । सामान्य तालिम लिएपछि उनी खाली हात बसेकी छैनन् । ऋण गरेर ब्यूटीपार्लर र कस्मेटिक सेन्टर खोलेकी उनको एकछिन हात खाली हुदैन । उनको सेवाका कारण ग्राहक पनि टुट्दैनन् । पोखराको नदीपुरमा रहेको उनको ब्यूटीपार्लरबाट महिनामा ६०/७० हजार रुपैयाासम्म कमाउन सफल छिन् । पेशाबाट सन्तुष्ट नहुने कुरै भएन । अझ यसलाई विस्तार गर्ने योजनामा उनी छिन् । आफुहरुजस्ता युवा विदेश जाने भन्दा उनलाई पनि जान मन नलागेको भने होइन । तर यही केही गरेर देखाउने विश्वास र एउटा आाट लिएर व्यवसायमा होमिएकी उनी अहिले विदेशको नाम पनि सुन्न चाहन्नन् ।  

स्याङजाको चापाकोट घर भइ हाल पोखरामा एक मोबाइल पसलमा काम गर्ने युवराज गिरी पनि उदाहरण नै बनेका छन् । उनले जम्मा ३ महिनाको तालिम लिएका हुन् । अहिले मोबाइलको सबै काम गर्न सिपालु उनी अरुलाई समेत सिकाउने भइसकेका छन् । मोबाइल पसलेले राम्रै तलव दिएका छन् । प्रशिक्षक भएवापत छुट्टै पारिश्रमिक पाउछन् । पोखरामै बसेर उनले उच्च शिक्षा पढिरहेका छन् । यसले उनी निकै फुरुङ्ग बनेका छन् । 

पर्वतका खेमनाथ शर्मा प्लम्बर हुन् । उनी अहिले एकै छिन पनि फुर्सदिला हुदैनन् । यसको मतलब उनका लागि दैनिक पैसा फलिरहेको छ । एक्लै नभ्याउने भएपछि अरु ४ जनालाई रोजगारी दिएका छन् । आफ्नै सीप र उद्यमले यस्तो होला भन्ने कल्पनै नगरेका शर्माको आर्थिक हैसियत कायापलटनै भएको छ । प्लम्बरका प्रशिक्षसमेत बनेका छन् ।  धन्न विदेश गइएनछ भन्दै उनी निकै खुशी देखिन्छन । काम सानो ठूलो नहुने भन्दै उनले आफु जस्ता युवालाइ पनि काम गर्न उक्साइरहन्छन् । 

सुरुमा महिलाका लागिमात्रै ब्यूटीपार्लर खोलेकी शान्ति बस्याल पराजुलीले व्यवसाय सफल हुदै गएपछि पुरुषको कपाल काट्ने सैलुन पनि चलाएकीछन् । उनी पनि सानोतिनो तालिम र लगानीबाट उच्च मनोवलसहित सफल उद्यमी बनेकी हुन् । अहिले अरुलाई रोजगारीसमेत दिन सफल भएकी छन् । पोखराका यी चार युवा सफल उद्यमी प्रतिनिधि पात्र मात्र हुन् । विभिन्न संघसंस्थाबाट सामान्य तालिम लिएर आत्मविश्वासका साथ उद्यममा होमिएका उनीहरुको यो लोभलाग्दो कमाइ अरुका लागि प्रेरणाका स्रोत बनेका छन् । राज्यका निकायबाट उद्यमीका लागि वर्षेनी करोडौ रुपैया लगानी गरिएको भए पनि खासै उपलब्धी देखिदैन । तालिम दिनुमात्र नभइ उनीहरुलाई कसरी व्यवहारमा उतार्ने भन्न्ने अहिलेको मुख्य चुनौती छ । तसर्थ बेरोजगार यस्ता युवालाई तालिमपछि उनीहरुले सिकेको सीपलाई व्यवहारमा उतार्ने वातावरण पनि तयार पार्नुपर्छ ।