ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण गरिने

श्रावण ७, २०७८

काठमाडौँको बिस्तारित चक्रपथमा मुख्य चोकहरूमा ट्राफिक चाप व्यवस्थापन गर्न फ्लाइओभर निर्माणको प्रक्रिया सुरू गरिएको छ । पहिलो चरणमा ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि सडक विभागले बोलपत्र नै आह्वान गरेको छ ।  कोटेश्वरलगायत अत्यधिक ट्राफिक चाप भएका अरू केही चोकमा पनि चरणबद्ध रूपमा निर्माण गर्ने योजना अघि सारिएको छ ।

ललितपुरको यस ग्वार्को चोकमा सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ४ लेनको फ्लाईओभर बनाउन सोमबार बोलपत्र आह्वान गरेको छ । स्वदेशी निर्माण व्यवसायीबाट निर्माण गर्ने गरी केन्द्रले ठेक्का आह्वान गरेको हो । ठेक्का प्रक्रियामा सहभागी हुनका लागि १८ करोड भन्दा बढी  वार्षिक कारोबार हुनुपर्ने सर्त राखिएको छ ।

फ्लाइओभर बनाउन इच्छुक निर्माण कम्पनीले २०७८ साउन २६ गते सम्म प्रस्ताव बुझाउनुपर्नेछ। इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत फ्लाइओभर निर्माणको जिम्मा पाउने कम्पनीले नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्नेछ ।

 २ वर्षभित्रमा निर्माण सक्ने योजनाका साथ केन्द्रले बोलपत्र प्रकाशित गरेको हो । डीपीआर ४ महिनाभित्र तयार गरिसक्नुपर्नेछ । यसअघि नै केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण गर्ने भनेर डीपीआर तयार गरेको थियो । परामर्शदाताले तयार गरेको डीपीआरलाई निर्माणकर्ताले पूर्णता दिनेछ ।

ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्‍याम निर्माण गरिनेछ । ओभरपासले चक्रपथको मुख्य चार लेन ओगट्नेछ । मुख्य सडक प्रयोग गर्ने सवारी साधन ओभरपास हुँदै गुड्नेछन् भने ग्वार्को–लामाटार सडक र ग्वार्को–पाटन सडकतर्फ जाने सवारी  ओभरपास मुनिबाट गुड्नेछन् ।यस फ्लाइओभरको करिब 50  करोड रुपैयाँ लागत पर्ने प्रारम्भिक अनुमान छ । यसपछि सातदोबाटो र एकान्तकुना चोकमा बनाउने सरकारी योजना छ । यसका लागि चक्रपथ विस्तार तथा सुधारअन्तर्ग २ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ । परम्परागत संरचनाले बढ्दो चाप धान्न नसकेकाले नयाँ संरचनामा जानैपर्ने भएको केन्द्रको भनाइ छ । एकै पटक ३ स्थानमा निर्माण शुरु गर्दा यातायात असहज हुने भएकाले पहिलो चरणमा ग्वार्को चोक रोजिएको हो । यसको प्रभावकारिता र अनुभवसमेतलाइ हेरी अरू ठाउँमा पनि यस्ता पूर्वाधार थप्दै जाने केन्द्रको योजना छ ।