भीडभाड र हेलचेक्र्याइँले संक्रमण बढ्यो

श्रावण ७, २०७८

सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि कोरोना महामारी फेरि तीब्र रूपमा फैलिन थालेको छ । सबैजसो बजार, व्यवसाय तथा कामकाजका क्षेत्र खुलेर बढेको भीडभाड र स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ  संक्रमण बढाउने मुख्य कारण बनेका छन् ।

 काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा मात्रै ३७ सय ५३ हाराहारी कोरोना संक्रमित थपिएका छन्, जुन दैनिक ५ सयभन्दा माथि हो । संक्रमित थपिने क्रम निरन्तर बढ्दै छ । काठमाडौंबाहिर पनि संक्रमण फेरि उकालो लागिरहेको छ । एक सातामा मोरङमा ८ सय ८८, झापामा ८ सय ४२ , कास्कीमा ९ सय ९०  र सुनसरीमा ९ सय १५ मा नयाँ संक्रमित थपिएका छन् । भारतसँगका सीमा नाकाबाट निर्बाध आउजाउ र स्वास्थ्य सुरक्षाका नियम पालना नगर्दा यो अवस्था संक्रमण घट्न नसकेको हो ।संक्रमित मात्रै हैन, मृतकको संख्या पनि बढ्दै गएको छ । गएको एक सातामा मात्र २ सय ७ जनाको मृत्यु भएको छ । अर्थात् दैनिक सरदर ३० जनाले ज्यान गुमाइरहेका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै जाँदा बजार, व्यवसाय, यातायात खुकुलो भएको छ । राजधानी र सहर प्रवेश गर्नेहरुको चाप बढ्दै जानु र सत्ता परिवर्तनसँगै दिनहुँजसो सभा, सम्मेलन तथा प्रदर्शनजस्ता गतिविधि नरोकिनुले महामारी फैलाउन सघाएको छ । खोप केन्द्रहरुको भीडभाड र मास्क प्रयोगमा बेवास्ता पनि जोखिमका कारण बनेका छन् ।अहिलेसम्म ९ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । दिनहुँ २ हजारभन्दा बढीमा भाइरस पुष्टि हुँदा संक्रमण दर २५ प्रतिशतकै हाराहारी छ । यसलाई महामारीको तेस्रो लहर र नयाँ भेरियन्टको जोखिमसँग पनि जोडेर हेर्न थालिएको छ। तर जोखिम नियन्त्रणमा भने कसैले गम्भीरता देखाएको पाइँदैन ।