बाँके खजुराका विपन्न परिवारलाई सुविधायुक्त सामूहिक आवास

जेष्ठ २८, २०७८

बाँकेको खजुरा गाउँपालिकाले गाँस बासविहीन  विपन्न परिवारका लागि बिजुली, पानी, शौचालयसँगै करेसाबारीसहितको सुविधायुक्त सामूहिक आवासको व्यवस्था गरेको छ । उक्त गाउँपालिकाले गोदहनामा २५ परिवारलाई घर हस्तान्तरण गरिसकेको छ भने त्यहाँ निर्माण गरिएका थप १६ वटा घर हस्तान्तरण गर्न  घर नभएका विपन्नहरुबाट आवेदन माग गरिएको छ ।

जीवनको यो उमेरसम्म खुला आकाशमुनिको कष्टकर बसाइमा बिताएपछि स्थानीय सरकारले बस्न योग्य घरबास निर्माण गरिदिएपछि खुसी भएका यी गरिब परिवारका लागि गाउँपालिकाले अन्य आवश्यक पूर्वाधारसमेत  निर्माण गरिदिने भएको छ । 

बाँकेको खजुरा गाउँपालिकाले कतै पनि घरबास तथा जग्गाजमिन नभएका अति विपन्न परिवारको खोजी गर्न पनि थालेको छ । बाँकेको गोहदहनामा ८८ लाखभन्दा बढी रकम खर्चेर २५ वटा आवास गृह निर्माण गरी गरिबलाई हस्तान्तरण गरिसकेको गाउँपालिकाले गाउँनजिकै १६ वटा व्यवस्थित तथा सुविधायुक्त घरहरु निर्माण गरी घरबारविहीनहरुबाट आवेदन माग गरेको छ । विपन्न भएको आधार प्रमाणसहित सामूहिक आवास क्षेत्रमा बस्न आउन सार्वजनिक सूचनाद्वारा आह्वान गर्दा अहिलेसम्म १० जनाभन्दा बढीको निवेदन परेको छैन ।

खजुरा गाउँपालिकाले निर्माण गरेका यी घरमा खानेपानी बिजुली बत्ती, शौचालयको त व्यवस्था गरिएको छ नै, यो सामूहिक आवास क्षेत्रसम्म आउजाउ गर्न फराकिलो सडकसमेत निर्माण गरिएको छ । करिब एक करोडको लागतमा यी घरहरु निर्माण गरिएका हुन् । यो आवास क्षेत्रका हरेक घरमा करेसाबारीका लागि पनि जग्गा छुट्टाइएको छ ।

खजुरा गाउँपालिकाभित्रका घरबारविहीन गरिब वर्गका लागि यस्तै घरबासको व्यवस्था गर्दै जाने लक्ष्य लिएको स्थानीय सरकारले थोरै जग्गा भएका तर आर्थिक समस्याका कारण घर बनाउन नसक्ने परिवारलाई पनि घर निर्माणमा सघाउने लक्ष्य लिएको जनाएको छ ।