निषेधाज्ञाले नियमित औषधि खानुपर्ने दीर्घरोगी समस्यामा

जेष्ठ २८, २०७८

कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा लम्विदैं जाँदा नियमित औषधि खानुपर्ने दीर्घरोगीहरु समस्यामा पर्न थालेका छन् । विशेषज्ञले सिफारिस गरे अनुसारका समूह र मात्राका औषधि गाउँठाउँका स्वास्थ्य संस्थामा पाईंदैन । बाहिर गएर ल्याउन सहज पनि छैन । जसले गर्दा प्रदेश-१ हिमाली र पहाडी क्षेत्रमा दीर्घरोगीका लागि औषधि व्यवस्थापन चुनौतिपूर्ण बनेको छ ।

धनकुटाको छिन्ताङ्गका मानध्वज राई लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित छन् । आहालेका कर्ण बहादुर राई र हाक्तिखर्कका बेगबहादुर मगर पनि नियमित औषधि खानुपर्ने नसा र श्वासप्रश्वासका बिरामी हुन् । उनीहरुले खाने गरेको औषधि स्थानीय स्वास्थ्य संस्था र औषधि पसलमा पाइदैंन् । निषेधाज्ञा अघि उनीहरुले धरान, विराटनगर र त्यहाँ नपाइदा भारतबाट ल्याएर औषधि प्रयोग गर्थे । संखुवासभा खाँदबारीका हरि कार्की पाँच वर्षदेखि पक्षघात विरुद्धको औषधि नियमित सेवन गर्छन् । तर, अहिले भने निरन्तरता दिन समस्या परिरहेको छ । 

लम्बिदो निषेधाज्ञामा नियमित खानुपर्ने औषधि सकिएर संखुवासभा र धनकुटाका बिरामीले भोग्नु परेका यी प्रतिनिधि विवरण हुन् । जटिल किसिमका पक्षघात, श्वासप्रश्वास, मृगौला, मस्तिष्क, नसा, मुटु, मधुमेह र रक्तचाप पीडित धेरै बिरामी बिषेशज्ञ चिकित्सकले सिफारिस गरेको मात्रा र समूहका औषधि स्थानीय स्तरमा नपाउँदा समस्या परेका छन् । 

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा  ६० वर्ष उमेर माथिको जनसंख्या ८ दशमलव १३ प्रतिशत छ । यो उमेर समूहका धेरै नागरिक मृगौला, मुटु, मष्तिष्क, श्वासप्रश्वास, मधुमेह, पक्षघात, रक्तचाप जस्ता कुनै न कुनै दीर्घ रोग विरुद्धको औषधि खाइरहेका छन् । प्रदेश-१ का प्रायः सबै जिल्लामा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा एक महिनादेखि जारी छ । निषेधाज्ञामा टाढाका बाहिरी जिल्लामा गएर औषधि ल्याउन सहज छैन ।