महामारीमा राजदूतहरुको भूमिका शून्य  

जेष्ठ १, २०७८

कोरोना संक्रमणले अत्यासलाग्दो रुप लिएपछि चरम  स्वास्थ्य संकटको अवस्था छ । स्वास्थ्य जनशक्ति र पूर्वाधारको कमीले गम्भीर बिरामीले नै उपचारका लागि पालो कुर्नुपरिरहेको छ भने अक्सिजन अभावले बिरामीको ज्यानै गइरहेको छ । यस्तो संकटको बेला पनि अन्तर्राष्ट्रिय समुदायबाटसमेत सहयोग आइरहेको छैन । यसमा विदेशस्थित नेपाली कुटनीतिक नियोग र राजदूत भूमिकाविहिन देखिएका छन् नै, सरकारकै अग्रसरताको समेत कमी देखिएको छ । 

कोरोना महामारीले नेपाल र छिमेकी देश भारत दुवै अहिले निकै आक्रान्त छन् । अमेरिका, बेलायतलगायत एक दर्जनभन्दा बढी देशले अक्सिजन प्लान्ट, सिलिण्डर, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्री सहयोग गरेकाले छिमेकी देश भारतले संक्रमितको उपचारमा केही सहज अनुभव गरिरहेको छ ।   तर नेपालमा गम्भीर प्रकृतिकै बिरामीले अस्पतालमा शय्या र अक्सिजन पाइरहेका छैनन् । दैनिक नौ हजार हाराहारीको स‌क्रमित संख्याले अवस्था दिनप्रतिदिन झन झन  हुँदैछ । यस्तोमा अन्तर्राष्ट्रिय समुदायको सर्वाधिक अपेक्षित हुन्छ । जबकि ३० देशमा नेपाली राजदूतावास, ६ स्थानमा महावाणिज्यदूत र ३ स्थानमा स्थायी प्रतिनिधि छन् । तर ती कुटनीतिक नियोगले संक्रमण रोकथामका लागि सहयोग जुटाउन उल्लेख्य भूमिका देखिएको छैन । कतिसम्म भने अमेरिकामा रहेका प्रवासी नेपालीहरुको लबिंगले त्यहाँको स‌ंसदमा नेपालको अवस्थाबारे छलफल चलेको छ । जबकी त्यहिं वाश‌िंगटनमा राजदूत र न्युयोर्कमा स‌ंयुक्त राष्ट्र स‌ंघका लागि स्थायी प्रतिनिधि छन् ।

मंगलबार  सहयोगस्वरुप चीनबाट ४ सय सिलिण्डर र केही थान भेन्टीलेटर भित्रियो । यस्तै अमेरिकाले एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने भनेको छ ।  परराष्ट्र मन्त्रालयसमेत सक्रिय भूमिकामा देखिरहेको छैन । खोप तथा आपतकालीन स्वास्थ्य सामग्रीका लागि कुटनीतिक पहल भइरहेको मात्र भनिरहेछ, स‌ंक्रमण तीब्र गतिले बढिरहँदासमेत एउटा पनि सन्तोषजनक खबर आएको छैन ।

भूकम्पका बेला जु्न तहको आपतकालीन वैदेशिक सहयोग आएको थियो, अहिले त्यसको एक कुना पनि छैन । अब परराष्ट्र मन्त्रालय र विदेशका नियोगहरुले हार गुहार गरेर भए पनि आपतकालीन सहयोग जुटाउन पहल गरुन, अन्यथा धेरै ढिलो हुनेछ ।