गठबन्धन सरकार बनाउने विषयमा जसपामा दुई धार

वैशाख ३०, २०७८

सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो खेमाले बुधबार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाइ भेटेपछि विवाद झनै चर्किएको छ । ठाकुर-महतोले गठबन्धन सरकारमा सामेल नहुने भन्दै ओली सरकारकै निरन्तरतालाई सुनिश्चित गर्न खोजेपछि बाबुराम भट्टराइ-उपेन्द्र यादव समूहले कारवाहीको चेतावनी दिएको छ । र, जसपाकै सहयोगले मात्र गठबन्धन सरकार बन्ने सम्भावना पनि अब लगभग टरेको छ । 

बुधबार जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तोले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई भेट गरे । दुई धारमा विभाजित जपसाको ठाकुर-महतो समूह कांग्रेस माओवादीले पहल गरिरहेको गठबन्धन सरकारमा सहभागी नहुने अडानमा छ । 

भट्टराइ-यादव समूहको निर्णयको वैधता नहुने भन्नका लागि उनीहरु बालुवाटार र शिलत निवास पुगेका हुन् ।  केन्द्रीय कार्यकारिणी समितिमा बहुमतमा रहेको र संसदीय दलमा समेत बहुमत रहेको दाबी गर्ने भट्टराइ-यादव समूहले पार्टी बहुमतले ओली सरकार विरूद्ध उभिने निर्णय गरिसकेको बताइरहेको छ । पार्टीको विधानमै बहुमतको निर्णय सबै सदस्यलाई लागू हुने भएकाले  कसैको व्यक्तिगत निर्णय पार्टीका लागि मान्य नहुने यो समूहको भनाई छ । भट्टराइ-यादव पक्षले बहुमतको निर्णय ठाकुर-महतोले नमाने कारवाही गर्ने चेतावनी दिइरहको छ । 

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि वैकल्पिक सरकारबारे निर्णय लिन नसक्दा जसपा दुई धारमा विभाजित भएको थियो । वैकल्पिक सरकारबारे पदाधिकारीबाट निर्णय हुन नसकेपछि केन्द्रीय कार्यकारीणी बैठकबाट निर्णय लिने भनिएको थियो । तर आफ्नो पक्षमा बहुमत नजुट्ने देखेपछि ठाकुर-महतो समूहले बैठक टारेको थियो । त्यही विवाद अहिलेसम्म लम्बिएर पार्टी विभाजनको संघारमा आइपुगेको छ । 

 

पार्टी भित्र देखिएको दुई धारकै कारण जसपाको मात्र सहयोगले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना अब लगभग टरिसकेको छ । अहिलेको प्रश्न, अब पार्टी एक रहन्छ कि रहन्न भन्ने मात्र हो ।