गठबन्धन सरकार बनाउन माधव नेपाल समूह निर्णायक

वैशाख २९, २०७८

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत गुमाएपछि अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन सरकार बनाउनका लागि छलफल तीव्र पारेका छन् । तर गठबन्धन सरकारका लागि निर्णायक मानिएका जनता समाजवादी पार्टी र एमाले बरिष्ठ नेता माधव नेपाल समूहले ठोस पहलकदमी नलिँदासम्म गठबन्धन सरकार बन्ने अवस्था देखिँदैन । 

कांग्रेस नेतृत्वमा गठनबन्धन सरकार बनाउन माओवादी केन्द्र र जसपा एक ठाउँ उभिनुपर्ने हुन्छ । कांग्रेस र माओवादी केन्द्र एक ढिक्का भएपनि जसपा दुई धारमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद  अध्यक्ष बाबुराम भट्टराइ कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने पक्षमा छन भने अर्का अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा देखिएका छन् । जसपाका ३२ मध्ये २७ सांसदले गठवन्धन सरकारलाई नसघाएसम्म कांग्रेस नेतृत्वमा सरकार गठन हुने अवस्था छैन । तर जसपाको ठाकुर समूहले गठवन्धनमा सामेल नहुने भनिरहेको छ । यो समूहले सरकार बनाउन सहयोग नगरेमा गठबन्धनका लागि पहिलो विकल्प समाप्त हुनेछ । अहिलेको अवस्थामा यो समूहसँग झण्डै १५ को हाराहारीमा सांसद देखिएका छन् ।  

जसपाको ठाकुर समूह सरकारमा सामेल नभए पनि अर्को विकल्पमा समेत गठबन्धन सरकार बन्न सक्ने अवस्था जिवितै छ । त्यो भनेको एमालेभित्रैको नेपाल समूहले समर्थन गर्दा पनि नयाँ सरकार बन्न सक्छ । नेपाल समूहका २८ जनाले गठबन्धन सरकारलाई समर्थन रहेको हस्ताक्षर राष्ट्रपति सामु पेश गरे जसपा विना नै सरकार गठन हुन सक्छ ।  यहाँ के खतरा छ भने विपक्षीको गठबन्धन सरकारलाई सहयोग गरेमा नेपाल निकट सांसदलाई स‌ंस्थापनले पदमुक्त गर्न सक्छ । तर सांसद पदमुक्त हुँदा पनि गठबन्धन सरकार बन्न सक्छ । कसरी भने नेपाल समूहका २१ जना पदमुक्त वा राजीनामा दिँदा प्रतिनिधिसभामा कुल सांसदको संख्या घटेर २ सय ५० मा झर्नेछ र त्यसबेला यादव समूहले मात्र समर्थन गरे पनि सरकार बन्न सक्छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सांसदबाट राजीनामा दिएर कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सघाउने  नेपाल समूहको रणनिती थियो ।  तर राजीनामा नदिने निर्णय लिएका कारण गठबन्धन सरकारको लागि संख्या पुर्‍याउन सकस पर्न गएको हो । अर्कोतिर ओलीले नेपाल समूहका सांसदलाई कारवाही गरे गठबन्धन सरकार बन्न नसकेको अवस्थामा उनैलाइ विश्वासको मत पाउन झन् असहज हुनेछ ।