राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेविरुद्ध एमाले नै खडा

वैशाख २५, २०७८

बाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपचुनाव सत्तासिन दल एमाले विरूद्ध एमालेकै उम्मेद्वार खडा भएका छन् । एमालेबाट सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले गृहमन्त्री रामबहादुर थापालाई उम्मेद्वार बनाउँदा विपक्षीका तर्फबाट एमाले बरिष्ठ नेता माधव नेपाल समूह निकट मानिएका खिमलाल देवकोटा साझा उम्मेदवार बनेका हुन् । नेता नेपालको समूहले ओली समूहका उम्मेद्वारलाई मत नदिएमा  विपक्षी उम्मेद्वारले जित्ने पक्कापक्की जस्तै छ । 

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उप-निर्वाचनका लागि सत्ता पक्षका तर्फबाट बहालवाला गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गराए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी लगायतका अन्य विपक्षी दलले खिमलाल देवकोटालाई आफ्नो साझा उम्मेद्वारको रूपमा खडा गरेका छन् । स्वतन्त्र उम्मेद्वार रूपमा खडा गरिएपनि देवकोटा एमालेमा असन्तुष्ट रहँदै आएका माधव नेपाल समूहको सिफारिसमा परेका हुन् । वागमती प्रदेशका १३ जिल्लामा एमालेको एकल बहुमत छ । तर प्रधानमन्त्री ओली समूहकाविरूद्ध विपक्षी दलको समेत साथ लिएर बरिष्ठ नेता नेपाल समूहले उम्मेदवार खडा गरेपछि मतभारका आधारमा विपक्षी नै बलियो देखिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ भने स्थानीय तहका प्रमुख वा उपप्रमुखको मतभार १८ हुने व्यवस्था छ । जसअनुसार एमाले एक ढिक्का हुँदा स्थानीय तहमा २३ सय ९४ र प्रदेशसभामा २७ सय ३६ गरी ५१ सय ३० मतभार छ । एमाले वाहेकका अन्य दलको मतभार ४४ सय ८० हो । यसमध्ये नेमकिपाले आफैँ उम्मेदवारी दिएको छ, जसको मतभार १ सय ३२ मात्र छ । नेमकिपाको १ सय ३२ मतभार नगान्दा पनि विपक्षीसँग ४३ सय ६० मत भार हुन्छ । जसमा माधव नेपाल समूहले ओलीका उम्मेदवारलाई मत नदिँदा सहजै विपक्षीले जित्ने अवस्था छ । माधव नेपाल समूहले दाबि गरे अनुसार यो समूहसँग एमालेको ४० प्रतिशत हाराहारीको मत छ । यही कारण विपक्षी समूह आफूले जित्नेमा ढुक्क छ । 

पार्टी निर्णय सबैले मान्ने आँकलन गरि गृहमन्त्री रामबहादुर थापालाई एक हप्ता अघि नै उम्मेद्वार घोषणा गरेको प्रधानमन्त्री ओलीको समूह भने विवाद नमिल्दासम्म सहयोग नगर्ने नेपाल समूहको स्पष्ट अडान पछि झस्किएको छ । नेपाल समूहले सहयोग नगरे हार्ने स्थिति आउन सक्ने ठानेर ओली समूहले शुक्रबार अबेर  मात्र थापालाई उम्मेद्वार बनाउने अन्तिम निर्णय गरेको थियो । 

एमालेभित्रको झगडा उत्कर्षमा छ र बीचमा केही चमत्कार भएन भने त्यसको असर राष्ट्रिय सभा सदस्यको निर्वाचन परिणाममा प्रष्टै देखिनेछ।