बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्कन सरकारको निर्देशन

वैशाख २२, २०७८

सरकारी अस्पताल, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र स्थानीय अस्पताल गरी देशभर ६ हजार ८ सयको हाराहारीमा स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीमध्ये सानाठूला अस्पताल मात्र १ सय २० वटा छन् । ती संस्थामा स्थायी दरबन्दीका चिकित्सक झण्डै २ हजार, स्टाफ नर्स ५ हजार, अहेव ८ हजार, अनमी ८ हजार, प्रयोगशाला तथा फार्मेसीका ३ हजार गरी करिब २७ हजार स्वास्थ्यकर्मी छन् । त्यसबाहेक विकास समितितर्फ र करारमा रहेका करिब ५ हजार छन् । दरबन्दीमध्ये ४० प्रतिशत डाक्टर, २७ प्रतिशत नर्स, अहेव लगायतका स्वास्थ्यकर्मी कम छन्। कार्यरतमध्ये पनि अस्पताल र स्वास्थ्य केन्द्रमा करिब ३ सय डाक्टर र ५ सय जति नर्स विदामा रहेको मन्त्रालयले जनाएको छ । बिरामीको बढ्दो चाप र त्यसमाथि स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सरकारले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलार्इ दरबन्दीमा फर्कन भनेको छ। तर भनेकै भरमा उनीहरु काममा फर्कन्छन् त ? 

नेपालगञ्जको भेरी अस्पतालमा ५६ जना स्थायी चिकित्सकको दरबन्दी भए पनि हाल १७ जना मात्रै कार्यरत छन् । अन्य चिकित्सक अस्पतालमा देखिएकै छैनन् । भएका चिकित्सक पनि संक्रमित भएपछि संघीय सरकारले ६० जना स्वास्थ्यकर्मी थप गर्ने निर्णय गरेको थियो । तर अस्पतालले १० जना मेडिकल अधिकृत माग्दा तीन जनाको मात्रै आवेदन पर्यो । यसले जनशक्ति नै नपाउने अर्को समस्या देखिएको छ । अध्ययन विदामा बसेकाहरु समेत काममा फर्कन मानिरहेका छैनन् । कतिपय आलटाल गरेरै जागिर जोगाउने छन् ।

जनशक्ति अभाव कम गर्न सरकारले विद्यार्थीलाई पनि अस्पतालहरुमा खटाउन विश्वविद्यालयलाई आग्रह गरेको छ । तर संकटको बेला सेवामा खटिनेलाई प्रोत्साहन वा सुविधासहित ठोस कार्य योजना नल्याउने हो भने सूचना निकालेकै भरमा नयाँ जनशक्ति पाउन मुस्किल हुने देखिन्छ ।