कोरोनाले विकराल रूप लिँदै

वैशाख २२, २०७८

१ अर्ब ३९ करोड जनसंख्या भएको भारतमा अहिलेसम्म २ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । यो कुल जनसंख्याको १ दशमलव ४–५ प्रतिशत हो । नेपालमा २ करोड ९२ लाख जनसंख्या मान्दा १ दशमलव २–० प्रतिशतमा भाइरस पुष्टि भएको छ । यसले भारतकै हाराहारी नेपाल पुग्न थालिसकेको देखाउँछ । वैशाख १४ गतेसम्म नेपालमा प्रति १० लाखमा १ सय ४७ संक्रमित भेटिन्थे भने त्यही समयमा भारतमा प्रति १० लाखमा २ सय ५८ मा भाइरस देखिएको थियो । एक हप्ताको बीचमा नेपाल पनि भारतकै नजिक पुगिसकेको यस रेखाचित्रले देखाउँछ । नेपालमा प्रति १० लाखमा २ सय ४९ संक्रमित पुग्दा भारतमा २ सय ५६ जना देखिएका छन् । अझ संकलित नमुनाको तुलनामा भारतमा सरदर २० प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा ४५ प्रतिशतभन्दा माथि छ । यसले समुदायमा यथार्थ संक्रमितको संख्या भारतमा भन्दा निकै बाक्लो रहेको देखाउँछ । 

नेपालमा अहिले जुन दरमा बिरामी भइरहेका छन्, त्यो सुरुवात मात्र भएको र अझै खराब परिस्थित आउने महामारीविज्ञको भनाइ छ ।

मृत्युदरले पनि नेपालले भारतकै प्रवृत्ति पछ्याइरहेको देखिन्छ । जस्तो कि वैशाख १४ गतेसम्म नेपालमा प्रति दश लाखमा शून्य दशमलव ६–१ जनाको मृत्यु भएको थियो । अर्थात् एक करोडमा दिनमा ६ जनाको मृत्यु भएको त्यस अाकडाले देखाउँछ । अहिले त्यो दर बढेर एक करोड जनसंख्या बराबर १२ जनाका दरले मृत्युवरण गर्दै छन्  र दिनदिनै यो क्रम बढ्दै छ । भारतमा हरेक १० लाख जनसंख्यामा २ दशलव ४–८ जनाको मृत्यु भइरहेको छ । यसमा पनि नेपालले भारतसँगै प्रतिस्पर्धा गरिरहेको देखिन्छ । 

विश्वका अरू मुलुकमा महामारी मत्थर हुँदै जाँदा भारतको अवस्था सबैभन्दा भयावह छ । कोरोना फैलिने दर भने नेपालमा सबैभन्दा तीब्र देखिएको विज्ञको भनाइ छ । साथै, नयाँ प्रजातिको भाइरस छिटो सर्ने, जटिलता बढी निम्त्याउने र यसले अस्पतालमा समेत दबाब सिर्जना गरी स्वास्थ्य प्रणालीले धान्न धौधौ पर्ने अवस्था बनेको छ । यसमा नागरिक स्वयं सचेत बन्नुको विकल्प छैन ।