पहाडी गाउँमा लक्षणसहितका संक्रमित,अस्पतालमा शय्या पाउनै कठिन

वैशाख २१, २०७८

सल्यानमा कोरोना भाइरस संक्रमितका बिरामी र मृतकको संख्या बढ्न थालेपछि थप जोखिम बढेको छ । लक्षणसहितका बिरामी बढ्न थालेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना लिने अवस्था छैन । १६ बेडको आईसोलसन कक्ष रहेको अस्पतालमा यतिबेला बिरामी भरिभराउ छन् । जव कि जिल्लामा संक्रमितको संख्या ३ सय नाघिसकेको छ । अस्पतालमा न बेड छ न अक्सिजन नै छ । जसले गर्दा मृतकको संख्या पनि बढिरहेको छ । 

शनिबार जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा रोल्पाकी एक महिलाको मृत्यु भयो । त्यसको केही समय बित्न नपाउँदै सल्यानका २६ वर्षीय युवकको मृत्यु भयो । एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको हो  । सल्यानमा एकहप्ता भित्र ५ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन् । गएको बर्ष जिल्लामा कोरोना भाइरसका बिरामी बढेपनि यसरी मृतकको संख्या भने बढेको थिएन । अघिल्लो बर्षको तुलनामा सल्यानमा बढी लक्षण सहितका बिरामी देखिएका छन् ।  तर अस्पतालमा राख्ने ठाउ नभएपछि उनिहरु सबै होम आईशोलेसनमा बसेका छन् । जसले गर्दा थप जोखिम बढेको हो । शैया अभावका कारण अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र अस्पतालममा राखिएको छ भने अहिलेसम्म ४ जना गम्भीर बिरामीलाई जिल्ला बाहिर रेफर गरिएको छ  ५ जना गम्भीर बिरामी अस्पतालमा उपचाररत छन् । 

यता जिल्लामा नयाँ भेरियन्ट सहितको भाईरस जिल्लाका सबै स्थानिय तहमा फैलिएको र थप जोखिम हुन सक्ने भन्दै सल्यानमा १९ गतेदेखि निषेधाज्ञा जारी  गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बैठकले अन्य जिल्ला वा भारतबाट फर्किने व्यक्तिलाई १० अनिवार्यरुपमा दिनसम्म स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । जिल्लामा भाइरसको संक्रमण  फैलिदै जाँदा कुनै पनि निकायले पूर्वतयारी गरेका छैनन् ।  पूर्वतयारी नगर्दा संक्रमणको अवस्था भयावह बन्दै गएको हो । स्वास्थ्य क्षेत्रमा  जनशक्ति बढाउने र औषधिका साथै  उपकरण प्रयोगमा स्थानीय प्रशासनले  ध्यान दिएको छैन ।