पश्चिमी नाकामा भारतबाट फर्किनेको भीड उस्तै, परीक्षणबिना सोझै घर

वैशाख २१, २०७८

सरकारले सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला कञ्चनपुर र कैलालीलाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचिमा राखेको छ । छिमेकी देश भारतसित सीमा जोडिएका यी दुई जिल्लाका गड्डाचौकी र गौरिफन्टा नाका भएर स्वदेश फर्किने नेपालीको भीड भने अझै रोकिएको छैन । संक्रमण दर दैनिक बढ्दै गएका बेला घर फर्किने मानिसको नाकामा स्वास्थ्य परीक्षण नगरी सोझै घर पठाईंदैछ ।

कोरोना भाईरसको संक्रमण भयावह बन्दै गएपछि  रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली धमाधम घर फर्किन थालेका हुन् । कोरोना भाइरसको दोस्रो लहर नेपालमा समेत तीव्र रुपमा फैलिरहेका बेला सिमा नाकाबाट नेपालीलाई स्वास्थ्य परिक्षण बिना सोझै प्रवेश दिइदैंछ । गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक एक हजार भन्दा बढी नेपाली विना परीक्षण आइरहेका छन् । यसरी संक्रमण फैलिएका क्षेत्रबाट स्वदेश आउने मानिसको विवरण सहित परिचय खुलाएर नाकाबाटै सम्बन्धित जिल्ला पठाईदै छ । 

 कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नेपालमा पनि भयावह बन्दै गएको  छ । पहिलो चरणको कोरोना भाइरसको संक्रमण भारतबाटै भित्रिएको थाहा पाउँदापाउँदै  नाकामा थप सजकता अपनाउनु पर्ने अहिले पनि बेवास्ता गरिएको छ । जसले गर्दा भाइरसको संक्रमणका कारण दैनिक मानवीय क्षति बढदै गएको छ, भने नाकामा भएको हेलचेक्र्याईँले हाम्रो स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था बन्दै गएको छ ।