सुदूरपश्चिमका अस्पतालमा बिरामी जोगाउनै मुस्किल

वैशाख २१, २०७८

सुदूरपश्चिमका अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि कोरोना भाइरस संक्रमितको मृत्युदर बढ्दै गएको छ । अस्पतालहरूलाई बिरामीको चापसँगै अक्सिजनको आपूर्ति धान्न धौ धौ परिरहेको छ । प्रदेशमा आवश्यकता अनुसार अक्सिजन आपूर्ति हुननसक्दा संक्रमितको मृत्युदर बढ्दै गएको हो ।

पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले केही दिनअघि कैलालीमा श्रीमतीको उपचारका लागि सरकारी अस्पतालमा अक्सिजन नपाएपछि निजी अस्पतालबाट अक्सिजन मगाएर भर्ना गरेका थिए । अहिले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार गर्नुपर्ने बिरामीको चाप निकै बढेको  छ । ठाउँ अभावमा उनीहरूलाई ग्यालरीमै बेड राखेर अस्पतालले उपचार गराइरहेको छ । ५० बेडको कोरोना अस्पतालमा ६३ जना संक्रमित भर्ना भएपछि अहिले अरू संक्रमितलाई इमर्जेन्सी मै राख्न थालिएको हो । त्यसैमा पनिअक्सिजनको निकै अभावले जटिल समस्यामा रहेका बिरामीलाई जोगाउन अस्पताललाई धौ धौ परिरहेको छ । 

सेतीप्रादेशिक अस्पतालमा ५ दिनको अवधिमा १८ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेपनि आवश्यकताअनुसार उत्पादन हुन सकेको छैन । २४ घण्टा सञ्चालन गरे पनि ५० सिलिन्डर मात्रै आपूर्ति गर्न सक्ने क्षमता रहेको प्लान्टले अहिले दैनिक १ सय सिलिन्डर धान्नुपरेको छ । त्यसमा केही खराबी आएमा एक जना प्राविधिक मात्रै रहेकाले ४० जनाभन्दा बढी संक्रमितको ज्यान समेत जोखिममा पर्ने अवस्था रहेको छ । अहिले सुदूरपश्चिमका अस्पतालमा अक्सिजन सिलिन्डरकै समेत चरम अभाव भइरहेको छ । यस्तो अवस्थामा खाली रहेका बजारका सबै सिलिन्डर अस्पतालमा ल्याउन प्रशासनसँग आग्रह गर्दै हृयुमानिटी फाउन्डेसन नेपालले सुदूरपश्चिमका चार वटा अस्पताललाई २ सय २० थान सिलिन्डर सहयोग गरेको छ । 

तर यत्तिले मात्रै सुदूरपश्चिमका अस्पताललाई पुग्ने अवस्था छैन । एक हप्ताको अवधिमा मात्रै प्रदेशमा ५६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार त्यसमा सबैभन्दा बढी कैलालीमा २५ र कञ्चनपुरमा २४ जनाको मृत्यु भएको छ । प्रदेशका अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामीले ज्यान गुमाइरहे पनि नजिकैको प्रदेश सरकार भने मूकदर्शक मात्रै बनेको छ ।