रुपैडिहा नाकाबाट अधिकांश यात्रु विना परीक्षण धमाधम घरतिर

वैशाख ५, २०७८

भारतबाट नेपाल प्रवेश गर्ने नाकामा जनशक्ति र परीक्षण सामग्री पर्याप्त नहुँदा ठूलो संख्याका नेपाली विनापरीक्षण भित्रिँदै छन् । जबकी, परीक्षण गर्न भ्याएकामध्ये अधिकांशमा कोरोना संक्रमण देखिएको छ । बाँकेको जमुनाह नाकामा परीक्षण गरिएकामध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरस पुष्टि भइरहेको छ ।

नेपालगन्ज जमुनाह नाकाहुँदै नेपाल भित्रिने मानिसमा कोरोना भाइरसको संक्रमण भयावह देखिएको छ । नाकामा भारतीय ठूला शहर र क्षेत्रबाट घर फर्किने नेपालीको घुँइचो बढ्दो छ । ती सवैको जाँच गर्न सक्ने अवस्था छैन । त्यसैले हेर्दा विरामी जस्तो देखिने मानिसको मात्र जाँच गरिएको छ । सीमित जनशक्ति र उपकरणका कारण सवैको परीक्षण गरिएको छैन । पश्चिमको गड्डा चौकी नाकादेखि झापासम्म शंका लागेका मानिसलाई मात्र रेन्डमली परीक्षण गरिएको छ । परीक्षण गरिएका मानिसमा ६० प्रतिशतभन्दा बढीमा भाइरस संक्रमणको पुष्टि भएको छ ।  दैनिक दुई तिन हजारको संख्यामा आइरहेका नेपाली मध्ये  सोधपुछ गर्दा र शंका लागेका एक डेढ सय व्यक्तिको मात्र एन्टीजीन जाँच गरिन्छ । बाँकी सबै परीक्षण बिना नै घर जान्छन् ।  

सीमा पारीबाट फर्किनेमध्ये भारतमा उच्च जोखिममा परेका शहरका भए पनि नाकामा भाइरसको संक्रमण भए नभएको विषयमा परीक्षण नै नगरि आउन दिदा नेपालगन्ज लगायत पहाडी जिल्लामा कोरोना भाईरस संक्रमण बढेर अवस्था भयावह बन्दै गएको हो ।   

संक्रमण तीब्र हुन थालेपछि भेरी अस्पतालका चिकित्सक सामु उपचारार्थ भर्ना भएका अन्य रोगका बिरामीलाई कसरी जोगाउने भन्ने चुनौति   देखापरेको छ । अघिल्लो पटकको संक्रमणमा धेरै जसो बढी उमेरका मानिसको स्वास्थ्य जोखिममा परेको थियो । तर यसपटक गर्भवती महिला, बालबालिका र बृद्धबृद्धा सबैमा कोरोना भाईरस देखिएकाले चुनौती झन् झन् थपिएको छ । 

यस्तो संकटका बेलामा पनि नाम मात्रको हेल्थ डेक्सलाई केन्द्र, प्रदेश र स्थानीय तीन तहकै सरकारले उपेक्षा गर्दा भारतबाट फर्किने सबै नेपालीको स्वास्थ्य परीक्षण हुन नसकेको हो । सुदुरपश्चिमदेखि पूर्वको झापासम्म दक्षिणी सीमा नाकाबाट नेपाल भित्रिदै गरेको कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न  जनशक्ति र उपकरण बढाएर एन्टीजीन परीक्षणको दायरालाई  फराकिलो बनाउन ढिलो गर्नुहुन्न ।