सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्यका लागि टेलिफोनबाटै सेवा

वैशाख ३, २०७८

सुरक्षित मातृत्व र नवजात शिशुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिफोनबाट अवस्था बुझ्ने  'टेलिकन्सल्टेशन' पाल्पामा प्रभावकारी बनेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण गर्भवती र विभिन्न रोगबाट पीडित महिला बिरामीले स्वास्थ्य संस्थासम्म आउन असजिलो मानेपछि स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे टेलिफोनबाटै नियमित सम्पर्क गर्दै आएका छन् ।

स्वास्थ्यकर्मीले कार्यालयबाटै गर्भवती महिलाको स्वास्थ्य अवस्था बुझ्दै काउन्सिलिङ्समेत गरेकी छन् । कोरोना भाइरस संक्रमण त्रासका कारण एक वर्षदेखि गर्भवती र गर्भवतीपश्चात्का महिलालाई यसरी दिने गरेको सेवा प्रभावकारी बनेको छ । टेलिफोनबाटै गर्भवतीलाई समय समयमा अवस्था बुझ्ने मात्र होइन, गर्भको अवस्था, बच्चा पाइसकेपछिको अवस्था के भएको छ भनी सोधपुछ गरिन्छ । महिलाको पोषण, खोपको अवस्था, आइरन चक्की खाए नखाएको विषयमा बुझ्ने गरिन्छ । 

कोरोना र लकडाउनको समयमा पनि टेलिफोन संवादबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएकामा महिलाहरु खुसी छन् । टेलिफोनबाटै नियमित र सामान्य समस्या हुँदा तत्काल स्वास्थ्य संस्थासम्म जान परेको छैन । मातृ शिशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सेवाग्राहीसंग प्रत्यक्ष सम्पर्कमा रहन यस्तो संवादले सहयोग पुगेको छ । स्वास्थ्यकर्मीले सिधै सेवाग्राहीको अवस्था थाहा पाउने, आवश्यक परे संवादकै कारण घरभेट हुने  र स्वास्थ्य संस्थामा नियमित जाँचका लागि आउने गर्छन् ।  स्वास्थ्य कार्यालयबाट सूचिकृत भएका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरबाट दुई दुई जना नर्सिङ कर्मचारीले सेवा दिएका छन् ।