बाँकेमा कोरोना संक्रमितको व्यवस्थापनमा कठिनाइ

वैशाख ३, २०७८

बाँकेमा एकसाता भित्रै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५० नाघेको छ । परीक्षण गरिएका व्यक्तिमध्ये ५० प्रतिशतभन्दा बढीमा भाइरस पुष्टि हुनुले त्यहाँ संक्रमणको दोश्रो लहरले भयावह रुप लिने खतरा देखिएको छ । संक्रमित थपिँदै गएपछि भेरी अस्पताल अस्तव्यस्त बनेको  छ ।

बाँकेको भेरी अस्पतालमा एकसाता यता ४ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । जबकी गत वर्ष संक्रमण सुरु भएको एक महिनापछि मात्रै मृत्यु हुने क्रम सुरु भएको थियो । तर यस पटक मृत्युदर हृवात्तै बढेको छ । नेपालगन्ज मेडिकल कलेजमा परीक्षण गरिएका ३६ नमूना मध्ये सबैमा भाइरस संक्रमण पुष्टि हुनुले पनि बाँके संक्रमणको हटस्पट बन्दै गएको देखाउँछ । 

अघिल्लो बर्षको तुलनामा यसपाली बाँकेका बालबालिका, र युवाहरुमा बढी संक्रमण देखिएको छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर  सिमा जोडिएको बाँकेमा परेको हो । संक्रमित बढ्दै जाँदापनि नियन्त्रणका लागि पूर्वतयारी भने फितलो छ । पहिले प्रयोग भएका प्रयोगशाला, जनशक्ति र कोरोना विशेष अस्पताललाई समेत व्यवस्थित र तयारी अवस्थामा नराख्दा अवस्था भयावह बन्ने जोखिम छ । 

अघिल्लो वर्ष कोरोना संक्रमणबाट थलिएको बाँके दोस्रो लहरको संक्रमणको पनि उच्च चपेटमा पर्दै गएको छ । 

तर स्थानीय तहले गत वर्ष संक्रमितको उपचारमा प्रयोग गरेका भेरी अस्पताल बाहेक नेपालगन्ज मेडिकल कलेज कोहलपुर र खजुरास्थित सुशील कोईराला प्रखर अस्पताल अहिले बन्द गरिएको छ । भेरी अस्पतालमा कोरोना संक्रमितका लागि जम्मा १४२ बेड ब्यवस्थापन गरिएको छ । तर जनशक्ति अभावले ६५ वटा बेडमात्रै संचालनमा छन् ।

बाँकेका अहिले देखिएका संक्रमित मध्ये आधाजसो  लक्षण सहितका छन् । ती मध्ये केही अक्सिजन र भेन्टिलेटरको सहायतामा छन् । तर न नियन्त्रण र रोकथाममा तदारुकता छ, नत विद्यालय, भिडभाड हुने स्थल तथा सभा, सम्मेलन लगायतमा स्वास्थ्य सावधानी नै अपनाईएको छ ।