भारतमा महामारी तीव्र बनेपछि नेपाली कामदार संकटमा

वैशाख ३, २०७८

भारतमा कोरोनाको दोस्रो लहरले भयाभह रुपलिएपछि त्यहाँ रहेका नेपाली फेरि संकटमा परेका छन् । सबैभन्दा बढी महाराष्ट्रमा रहेका नेपाली समस्यामा परेका छन् । संक्रमणका कारण महाराष्ट्रमा लकडाउन भएको छ । उद्योग धन्दा बन्द भएर रोजगारी गुमाएका नेपाली पारिश्रमिक समेत नपाएर रित्तो हात घर फर्किरहेका छन् । एकातिर रोजगारी गुमाउनुको पीडा अर्कातिर कोरोना संक्रमणको जोखिम । नेपालीहरु दु:खकष्टका साथ सीमामा पुगिरहेका छन् । तर, नाकामा व्यवस्थापन फितलदो हुँदा उनीहरुलाई थप सकस छ ।

कोरोना कहरकै कारण अघिल्लो वर्ष काम छोडेर घर आएका कैलाली गौरीगंगाका निशान बिश्वकर्मा संक्रमण कम भएको सुनेपछि परिवारसहित रोजगारीका लागि दुई महिनाअघि पुनः मुम्बइ गए । होटेलमा काम गरिरहेका बेला एकाएक संक्रमण बढेर लकडाउन भएपछि बिचल्लीमा परे । यस बिचमा काम गरेको पारिश्रमिक समेत नपाएका उनी साथीसंगीसंग ऋण लिएर रातारात घर हिडे । निशान जस्तै रोजगारीका लागि भारतको मुम्बइ, बेङलोर, पन्जाब लगायतका शहर पुगेका नेपाली बिचल्लीका बीच स्वदेश फर्किरहेका छन् । महाराष्ट्र लगायतका केही प्रदेशमा लकडाउन भइसकेको छ भने कतिपय राज्यमा अब हुने हल्लाले नेपाली फर्किन थालेका छन् । धनगढीको गौरीफन्टा त्रिनगरनाकाबाट दैनिक एक हजार मानिस आइरहेका छन्  । सबैको समस्या एउटै छ । जोखिमपूर्ण क्षेत्रबाट मानिस फर्किने क्रम बढेपनि नाकामा स्वास्थ्य जााचको उचित ब्यवस्थापन छैन । हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको ब्यवस्था त गरिएको छ तर, पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा समस्या छ । फर्किने धेरैजसो परीक्षण बिनै सार्वजनिक यातायात चढेर घर फर्किरहेका छन् । कोरोनाको उच्च जोखिम ठाउँबाट हुलका हुल मानिस नेपाल प्रवेश गरिरहेका छन् । कतिपय नाकाबाट नेपालीसंगै भारतीय नागरिकसमेत नेपाल भित्रिरहेका छन् । नाका व्यवस्थापन प्रभावकारी नहुँदा कोरोनाको दोस्रो लहरको खतरा बढ्दै गएको छ ।