विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह,  सार्वजनिक स्थलमा भिडभाड थेगिनसक्नु  

वैशाख ३, २०७८

तीब्र गतिले फैलिने र कडा लक्षण देखाउन सक्ने नयाँ प्रकारको कोरोना भाइरस देखा परिसकेको छ । र, बालबालिकामा समेत छिटो संक्रमण हुने खतराले छोइसक्दा सावधानीमा भने निकै बेवास्ता भइरहेको छ । बजार पसलमा भिडभाड उस्तै छ भने स्कुलहरु पनि चलेकै छन् ।

पछिल्लो समय दैनिक सरदर ३ देखि ४ हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सयभन्दा बढी सक्रमित भेटिन थालेका छन् । त्यसमा  १८ वर्ष मुनिका बालबालिका समेत छन् । उमेरका हिसावले १८ वर्षसम्मका बालबालिका शसक्त मानिए पनि नयाँ भेरिएन्टले कम उमेरका मानिसहरुलाइ समेत धेरै खतरा निम्त्याउने जोखिम देखिएको छ । तर कोरोनाको जोखिम बढेपनि सावधानीमा भने खासै ध्यान दिइएको छैन् । शैक्षिक संस्थाहरु निर्वाध सञ्चालनमा छन् । सरकारले  कोरोनाको दोस्रो लहर  आएको भन्दै  १५ दिन  अघि नै भिडभाड नगर्न भनेको हो । तर सार्वजनिक स्थलहरु, बजार तथा होटल रेष्टुराँ लगायतका ठाउँहरुमा मानिसको भिड थेगिनसक्नु छ । मन्त्री प्रधानमन्त्रीकै संलग्नतामा सभा, समारोह र जात्राहरु चलेकै छन् ।  

अहिलेकै स्थिति कायम राख्ने हो भने संक्रमणले जटिल अवस्था छिट्टै ल्याउने छ । अवस्था थेग्न नसक्ने अवस्था आउनु अघि अहिले नै सावधानी अपनाउनु पर्ने हो।  त्यसका लागि शैक्षिक संस्थाहरु केही समयका लागि बन्द गरेर भएपनि बालबालिकालाई सुरक्षित गर्नु तथा यातायात, मनोरञ्जन स्थल, होटल, रेष्टुराँहरुमा सिमित मानिसको मात्रै आवतजावत हुन दिनु आवश्यक हुने विज्ञहरु बताउँछन । तर त्यसमा ध्यान पुगेको छैन् ।