नाकामा भरपर्दो परीक्षण नहुँदा समुदायमा संक्रमणको त्रास

वैशाख २, २०७८

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमणले भयावह रुप लिएपछि रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् । पहाडको पश्चिम दार्चुलादेखि तराईका विभिन्न नाकाबाट स्वदेश फर्किएकाहरुले रोजगारी गुमाएको र फेरि लकडाउन हुने त्रासको कारण बस्न नसकेको बताएका छन् ।

यो कैलालीसँग जोडिएको गौरीफन्टा-त्रिनगर नाका हो । दुई सातायता भारतका विभिन्न शहरबाट यो नाका हुँदै नेपालीहरु यसरी नै हुलका हुल घर फर्किरहेका छन् । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा रोजगारी गुमेपछि आफूहरु घर फर्किनुपरेको उनीहरुको भनाइ छ ।  

गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेका छन् । नाकामा स्वास्थ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरेको छ । जहाँ एन्टिजेन परीक्षणको व्यवस्था छ । यसरी आएकामध्ये हरेक जनामध्ये एउटामा संक्रमण देखिएको छ ।  एन्टिजेनमा कोरोना पोजेटिभ देखिएकाहरुलाई धनगढीमा रहेको क्वारेन्टिनमा राख्ने गरिएको छ । 

धनगढीको यो नाकासँगै पश्चिम दार्चुलादेखि तराईका विभिन्न सीमा नाकाबाट यसरी नै नेपालीहरु स्वदेश फर्किरहेका छन् । सबैजसो नाकामा यस्तै घुइँचो देखिन्छ । यसरी आउनेमध्ये सबैको परीक्षण भने हुन सकेको छैन ।

भारतबाट आएका सबैको भरपर्दो परीक्षण र सावधानीमा कमजोरीले समुदायमा संक्रमण सर्ने हो कि भन्ने त्रास पनि देखिन्छ । तसर्थ, नाकालाई बेलैमा व्यवस्थित नगर्ने हो भने विगतमा जस्तै समस्या काबुबाहिर नजाला भन्न सकिन्न ।