महामारीको उच्च जोखिममा बालबालिका

वैशाख १, २०७८

कोरोना महामारीको नयाँ लहरले शैक्षिक संस्थाहरु पनि प्रभावित हुन थालेका छन् । जोखिम कम गर्न विद्यालयहरु केही दिन बन्द गर्ने कि नियमित नै चलाउने भन्नेमा बहस भइरहँदा बालबालिका बढी जोखिममा देखिएका छन् ।

काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयमा ३ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । शिशुदेखि १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एउटा कक्षामा ८० जनासम्म राखेर पढाइ हुन्छ भने एउटै बेन्चमा ४ जनासम्म बस्नुपर्ने बाध्यता छ । यस्तो भीडमा भौतिक दूरी र स्वास्थ्य सावधानी केबल कुरा मात्रै हो । अझ त्यही विद्यालयमा एक विद्यार्थी र एक शिक्षकमा संक्रमण देखिएको छ । अनिवार्य माक्स, स्यानिटाइजर, हात धुने उपाय कार्यान्वयन पनि व्यवहारिक देखिँदैन । 

यो त एउटा उदाहरण मात्रै हो । शहरी क्षेत्रका धेरैजसो शैक्षिक संस्था अहिले संक्रमणको केन्द्र बन्ने जोखिम छ । किनभने बसमा कोचाकोच गरेर राख्ने, शैक्षिक सामग्री, मास्क लगायत साटासाट गर्ने, बोतलको पानी, खाजा बाँडेर खाने, सँगै खेल्ने र नजिक बसेर कुराकानी गर्नेजस्ता कारणले पनि विद्यालयमा ससाना बालबालिकामा संक्रमण छिटो फैलिने जोखिम छ ।

निजी शैक्षिक संस्था सञ्चालकहरूको दबाबमा सरकारले वैकल्पिक कक्षा सञ्चालन बाध्यकारी बनाउन सकेको छैन । नयाँ प्रकारको भाइरस बढी संक्रामक रहेको र जटिल स्वास्थ्य समस्या समेत निम्त्याउने भएकाले पनि यसपटकको महामारीको सामना झन् कठिन हुने विज्ञहरूले चेतावनी दिएका छन् ।