कोरोना संक्रमितमा नयाँनयाँ लक्षण, अस्पतालमा बिरामीको चाप एक हप्तामै ११ गुणा

चैत्र २९, २०७७

कोरोना भाइरस संक्रमणदर बढेपछि सिकिस्त बिरामी ह्वात्तै बढेका छन् । अस्पतालमा एक सातामै गम्भीर बिरामीको संख्या ११ गुणासम्म बढेपछि कतै यसअघि जस्तै शय्या नै नपाउने स्थिति त आउने होइन ? भन्ने आशंका चिकित्सकले नै गर्न थालेका छन् । 

पाटन अस्पतालमा एक साताअघि कोभिडका १५ जना पनि बिरामी थिएनन् । तर संक्रमणदर बढेपछि त्यहाँ बिरामीको संख्या बढेर पाँच गुणा नाघेको छ । अस्पताल प्रशासनका अनुसार आइतबार त्यहाँ कोभिडका ८० बिरामी छन् । तीमध्ये २१ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोभिडका बिरामीका लागि पाटनमा अब आईसीयु र भेन्टिलेटर दुवै छैन । बिरामी बढेको पाटनमा मात्र होइन, 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक सातामा बिरामीको संख्या ६ गुणा बढेको छ । एक साताअघि त्यहाँ  ३ बिरामीको उपचार भइरहेकामा आइतबारसम्म २२ जना भर्ना भइसकेका छन् । तीमध्ये ९० प्रतिशतलाई अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ । सरुवा रोगको उपचार हुने शुक्रराज ट्रपिकल अस्पतालमा एक सातामा कोभिडका बिरामीको संख्या  २ बाट बढेर २४ पुगिसकेको छ । तीमध्ये १८ जनाको आईसीयू र ५ बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

संक्रमणदर बढेपछि गम्भीर प्रकारका बिरामीको संख्या ह्वात्तै बढेको हो । एक साताअघि २३ गते साढे दुई महिनायताकै धेरै संक्रमित थपिंदा संक्रमणदर ५ दशमलव ८ थियो । त्यसयता संक्रमणदर दिनदिनै बढिरहेको छ । आइतबार ३१ सय २५ नमुना परीक्षण गर्दा ९ दशमलव ७ अर्थात ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ प्रकारको भाइरस फैलिएको प्रभाव अस्पताल बिरामीले भरिन थालेका हुन् । 

गत असोज कात्तिकमा संक्रमणदर उच्च हुँदा बिरामीले अस्पतालमा शय्या नै नपाउने अवस्था आएको थियो । संक्रमणदर पहिलेकै गतिमा बढ्न थालेकाले त्यो स्थिति फेरि नदोहोरिएला भन्न सकिन्न ।