प्रम ओलीको विवादास्पद अभिव्यक्ति

चैत्र २८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथामका सम्बन्धमा अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले अम्बाको पात उमालेर मुख कुल्ला गरे भाइरस भाग्ने भनेपछि त्यसको वैज्ञानिक आधार के हो भनेर प्रश्न उठेको छ । 

प्रधानमन्त्री ओलीले बिहीबार एक कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । के यसो गर्दा कोरोना भगाउन सकिन्छ त ?

कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्न नसकेर विश्व समुदाय नै आक्रान्त भइरहेका बेला प्रधानमन्त्रीले वैज्ञानिक परीक्षण नभएको र अप्रमाणित कुरा फैलाएका छन् । बिनाआधार जथाभावी अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पनि ओलीको आलोचना भइरहेको छ । यसअघि प्रधानमन्त्रीले बेसार सेवन गर्दा संक्रमणको जोखिमबाट बच्न सकिने बताएका थिए । यो कुरा पनि विश्वमा कहीँ कतै प्रमाणित भएको छैन । 

हुन पनि विश्वकै वैज्ञानिक अहिले संक्रमणबाट बच्ने उपाय खोजिरहेका छन् । कतिपय देशले खोप विकास गरेपछि केही राहत त भएको छ तर नयाँनयाँ प्रकारका कोरोना देखिँदा ती खोपले पनि पूर्णतः सुरक्षा दिन सकेका छैनन् । प्रधानमन्त्री ओली त झन् अम्बा र बेसारको अनुसन्धान गरेका वैज्ञानिक पनि होइनन् ।  कुनै विश्वसनीय निकायले अनुसन्धान गरी अम्बाको पातले भाइरस भाग्ने पत्ता लगाएका पनि छैनन् । 

बिनाआधार सर्वज्ञानीका रुपमा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गलत सूचना फैलाइरहेको यसबाट पुष्टि हुन्छ ।