महामारीबिच विद्यालयमा धमाधम पढाइ

चैत्र २८, २०७७

केही दिनयता संक्रमणको ग्राफ बढेको छ । त्यस्तो संक्रमण स्कुले विद्यार्थीमा पनि देखिएपछि स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन भनेको छ । तर सहरी क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षा चलाइरहे पनि धेरैजसो विद्यालयले महामारीको बेवास्ता गरी भिडभाडका बीच पढाइ सञ्चालन गरिरहेका छन् ।

संक्रमण दर बढेपछि स्वास्थ्य मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्‍यो । सूचनामार्फत् उसले काठमाडौं, पोखरा लगायत ठूला सहरका स्कुले विद्यार्थीमा पनि संक्रमण बढिरहेकाले उच्च सतर्कता अपनाउन भनेको छ । तर अधिकांश शिक्षण संस्थामा त्यस्तो सतर्कता अपनाएको देखिंदैन । स्कुल सुरु हुने र छुट्टी हुने बेलामा बढी भिडभाड हुन्छ भने कक्षा कोठामा पनि सामाजिक दूरी कायम गरिएको पाइँदैन । त्यसो त विद्यार्थी ओहोरदोहोर गर्दा बसमा झनै भिडभाड हुन्छ । सार्वजनिक बसमा स्वास्थ्य मापदण्ड अपनाउनै छाडिएको छ भने विद्यालयले आफ्नो बसमा विद्यार्थीलाई कोचेरै राख्ने गरेका छन् । तर यतातर्फ सरकारका कुनै निकायले पनि नियमन गरेका छैनन् । 

संक्रमणको जोखिमका कारण खासगरी उपत्यकाका कतिपय विद्यालय अझै खुलेका छैनन्, उनीहरुले अनलाइनबाट कक्षा चलाइरहेका छन् । एउटा विद्यार्थी संक्रमित भए शिक्षण संस्थामा त्यसले कसरी भयावह रुप लिन्छ भन्ने पछिल्लो उदाहरण पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस हो । विद्यार्थीबाट घर परिवार अनि समुदायमा संक्रमण फैलिने जोखिम हुन्छ । त्यसैले संक्रामक रोग विशेषज्ञहरु जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउन नसक्ने अवस्थामा अनलाइन कक्षामा जोड दिनुपर्ने बताउँछन् । 

स्वास्थ्य मन्त्रालयले आफ्नो १० बुँदे सूचनामा भिडभाड हुने सबै क्षेत्रमा सतर्कता बढाउन भनेको छ । यो अवस्थामा एकातिर शिक्षण संस्था आफैं गम्भीर हुनुपर्छ । अर्कातिर नियमनकारी निकायले पनि आफूलाई विज्ञप्ति निकाल्ने भूमिकामा मात्र सीमित पार्नु हुँदैन ।