कोरोना संक्रमण बढ्न नदिन समुदायमै निगरानी

चैत्र २३, २०७७

भारतमा दोस्रो पटक कोभिड १९ को संक्रमण तथा मृत्युदर बढ्दै गएपछि पाल्पामा पनि सतर्कता अपनाउन थालिएको छ । खुला सीमाका कारण भारतबाट भित्रिनेहरु बढ्न थालेपछि संक्रमण बढ्न नदिन जोखिम कम गर्ने उपाय सुरु गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको वैठकले सबै स्थानीय तहलाई सतर्कता अपनाउन पत्राचार गरेको छ । भारत लगायत अन्य मुलुकबाट आउनेहरुको वडा तथा समुदायस्तरबाट निगरानी र अभिलेख राखी होम क्वारेन्टाइनम राख्ने र यसको अनुगमन स्थानीय तहबाट गर्ने व्यवस्था मिलाइएको छ । कोभिड-१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न समितिको बैठकबाट सबै स्थानीय तहलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा सुरक्षित र प्रभावकारी बनाउन स्वास्थ्य संस्था, स्थानीय तहलाई निर्देशन दिंदै निगरानी राख्नसमेत आग्रह गरेको छ ।  

 संक्रमण फैलन नदिन प्रहरी, स्थानीय तहमा चेतनामुलक सन्देश फैलाउने, मास्क अनिवार्य लगाउने, स्यानिटाइजर प्रयोग गराउन थालिएको छ । स्थानीय तहले पनि भारत लगायत अन्य मुलुकबाट मानिसहरुको आगमन भयो भने क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्ने जनप्रतिनिधिले जनाएका छन् । 

स्थानीय प्रशासनले आगामी दिनमा मेला, जात्रा, पर्व, महोत्सव, वार्षिकोत्सव भेला, जुलुस, र्याली जस्ता भीडभाडजन्य कार्यक्रम नगराउन समितिको निर्देशन सबैले पालना गर्न निर्देश गरेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिड्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने निर्णय भएको छ । भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुको निगरानी गर्ने,उनीहरुलाई क्वारेन्टिनमा राख्ने र कोभिड १९ को संक्रमण फैलन नदिन प्रचारात्मक अभियान अगाडी बढाउन जरुरी देखिएको छ ।