नेकपाको कानुनी विभाजनको प्रतीक्षामा कांग्रेस

फाल्गुन १४, २०७७

हुन त कांग्रेससँग यतिबेला प्रतिनिधि सभामा जम्म ६३ सांसद छन् । त्यसमा पनि विजयकुमार गच्छदार र अफ्ताब आलम निलम्बनमा रहेका कारण सक्रिय संख्या जम्मा ६१ मात्र छ । 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा एक्लैसँग १ सय ७४ सिट छन् । दुइ गुटमा कति सांसद कता हुन्छन् भन्ने अझै एकिन छैन । दुवै खेमाले आफूसँग करिब ९० सांसद रहेको दावीसहित नयाँ समीकरणका लागि दौडधूप सुरु गरिसकेका छन् । र, दुवै खेमाको पहिलो रोजाइ नेपाली कांग्रेससँगको सत्ता सहकार्य छ । त्यसैले पनि राजनीतिको केन्द्रमा पुनः देउवा हुन पुगेका हुन् । 

दाहाल-नेपालले देउवालाई दुइपटक निवासमै पुगेर र एकपटक कांग्रेस पार्टी कार्यालय पुगेर सहकार्यको प्रस्ताव मात्र गरिसकेका छन् । सार्वजनिक मञ्चबाट पनि पटकपटक कांग्रेससँगको सहकार्यलाई जोड दिएका छन् । तर कांग्रेस भने अहिले नेकपा नफुटेको भन्दै बोल्ने बेला नभएको भनिरहेको छ । 

उता ओली खेमा पनि आफ्नो पार्टी जोगाउनेभन्दा देउवालाई फकाउनमा बढी केन्द्रित छ । कुनै बेला देउवालाई कांग्रेसका तर्फबाट देशकै अन्तिम प्रधानमन्त्री भनेर भाषण गरेका ओली अहिले दाहाल नेपाललाई सत्ता दिनुभन्दा देउवालाई दिनु लाभदायक ठानिरहेका छन् । 

तर देउवाले अहिलेसम्म मुख खोलेका छैनन्, बरु आफ्नो साथ माग्न आउनेलाई पहिले कानुनी रुपमा पार्टी फोडेर आउन भनिरहेका छन् । 

देउवाको अहिले पहिलो ध्यान नेकपाको कानुनी विभाजनमा बढी छ । बाहिर भने ओलीसँग नजिक भएको भाव देखाएका छन् । 

देउवाको बुझाइमा पार्टी ओलीले मात्र फोड्न सक्ने भएकाले नेकपा फुटाउनकै लागि भए पनि ओलीलाई साथ दिएको सन्देश फैलाउन खोजेका छन् । नेकपा औपचारिक नफुटेसम्म कांग्रेसलाई बोल्न हतारो नभएको देउवानिकट नेताहरु सार्वजनिक रुपमै भनिरहेका छन् । 

त्यसो त देउवा यतिबेला जति रणनीतिक छन्, त्यति नै रक्षात्मक पनि । एकातिर नेकपाको औपचारिक विभाजन कुरिरहेका बेला त्यसको असर आफ्नो पार्टीमा नपरोस् भन्ने छ । यस्तै देउवाको दोस्रो ध्यान नेकपा फुटिसकेपछि सत्ताको नेतृत्वमा जाने हो । यसले आफू र कांग्रेसलाई दोहोरो फाइदा हुने देउवाको बुझाइ छ । पहिलो कम्युनिष्टहरु स्थिरता दिन सक्दैनन् भन्ने सन्देश दिन र दोस्रो महाधिवेशनको मुखमा आफू प्रधानमन्त्री भएर सभापतिको बाटो पुनः सहज बनाउन । 

अब प्रधानमन्त्री हुन पाए पार्टी महाधिवेसन देखि स्थानीय निर्वाचन र २ वर्षपछि हुने आम निर्वाचनसमेत आफैले गरेर राजनीतिक लाभ उठाउन पाउने उनले ठानेका छन्। उनले देखेको यही लाभबाट कांग्रेसको विपक्षी खेमा त्रसित छ । त्यसैले पनि यतिबेला सत्ताको खेलमा लाग्न नहुने तर्क कांग्रेसभित्रै जोडदार उठेको छ । 

त्यसैले अहिले देउवाका अघि जति अवसर छन्, त्योभन्दा बढी चुनौति देखिएका छन् ।