नेकपामा एकताको सम्भावना अत्यन्तै क्षीण

फाल्गुन १३, २०७७

प्रतिनिधि सभा ब्युँतिएपछिको नयाँ परिवेशमा नेकपाका ओली र दाहाल नेतृत्वका दुवै समूहले एकता बचाउन एकअर्कालाई आत्मालोचनासहित आफ्नो कित्तामा आउन भनेका छन् । 

तर कुनै चमत्कार भएबाहेक त्यस्तो सम्भावना अत्यन्तै न्यून छ । विघटन बदर भएपछि थप दबाबमा परेका ओली नयाँ रणनीति बुन्दै छन् । नैतिक र राजनीतिक रूपमा जीत महसुस गरेको दाहाल खेमा पनि संसद पुनःस्थापनापछि सत्ता र पार्टीको भावी योजना तय गर्न जुटिसकेको छ । दुवै समूहको लक्ष्य भनेको एकले अर्कोलाई किनारा लगाउने र नयाँ सत्ता समीकरणको प्रयास गर्नेमै केन्द्रित देखिन्छ । 

दाहाल समूहले त अब प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नहुने उद्घोष गरेको छ । तर ओली समूहका सांसद र नेताहरुलाई आफ्नो समूहमा भित्र्याएर भए पनि सरकार निर्माण गर्ने तयारी यस समूहको छ । 

त्यसो त आफ्नो कदमलाई सर्वोच्चले अवैध ठहर गरिदिए पनि प्रधानमन्त्री ओली आफूलाई कमजोर ठानिरहेका छैनन् । बुधबार बसेको उनको समूहको स्थायी समिति बैठकमा अबको लडाइँ संसदबाट हुने चेतावनी दिनुले पनि अझै सत्ता जोगाउने प्रयत्नमै छन् भन्ने बुझिन्छ । आफ्नै समूहका नेताहरूले राजीनामा दिन सुझाव दिए पनि ओली तत्काल पछि हट्ने मनःस्थितिमा छैनन् । 

नेकपा एक नहुँदा अबको सरकार गठनका लागि अगामी दिन झन् जटिल र चुनौतीपूर्ण हुने निश्चित छ । नयाँ सरकार बनाउन कांग्रेसको साथ लिनुपर्ने हुन्छ । केन्द्रमा मात्रै हैन, प्रदेशहरूमा समेत कांग्रेसको समर्थनबिना दुवै पक्षले सरकार बनाउन सक्ने स्थिति छैन । पार्टी आधिकारिकताको विषय उत्तिकै पेचिलो छ । केन्द्रीय कमिटीको बहुमतको आधारमा दाहाल समूहले वैधता पाएमा ओली समूहले नाम, सूर्य चिन्ह र  झण्डा गुमाउनेछ । त्यसो त प्रधानमन्त्रीबाट राजीनामा दिएको अवस्थामा नयाँ पार्टी खोल्ने बाटो समेत ओलीका लागि बन्द हुन सक्छ । त्यसैले पनि ओलीले राजीनामा नदिई अध्यादेशमार्फत पार्टी विभाजनको प्रकृया सजिलो बनाउन सक्नेछन् ।