वैकल्पिक सत्ता समीकरण बनाउन दाहाल सक्रिय

फाल्गुन १२, २०७७

नेकपा अध्यक्ष पुष्पकमल दाहालका लागि मंगलबारसम्म खुला राजनीतिमा आएपछिका सबैभन्दा कठिन दिन चलिरहेका थिए । जब प्रतिनिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्चले बदर गरिदियो, अनि दाहालले आफ्नो सक्रियता वैकल्पिक सत्ता समीकरण बनाउन केन्द्रित गरेका छन् । उनले पार्टीभित्र आफ्नो समूहमा मात्रै नभई अन्य दलहरूसँग छलफल थालेका छन् ।

बिहीबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्न दाहाल मंगलबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगिसकेका थिए । 

जब बुधबारको विरोध कार्यक्रमको तयारी हुँदै थियो, एकाएक सुखद् खबर सर्वोच्च न्यायालयबाट बाहिर आयो- प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीको काम बदर भनेर । 

लगत्तै कार्यक्रमस्थलमा नै दाहाल र नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी साटे । 

विरोध कार्यक्रम स्थगित गरेर र विजय जुलुस गरन कार्यकर्तालाइ निर्देश गरी बुधबार साढे  १२ बजे काठमाडौं फर्किए । 

काठमाडौं ओर्लेलगत्तै आफूनिकट नेताहरुलाई केहीबेर मात्र पार्टी कार्यालय पेरिसडाँडामा भेटेर सिधै  कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगे ।  देउवालाई ओली प्रतिगामी भएको र उनको हार भइसकेको भन्दै आफूहरुसँग मिलेर अविश्वासको प्रस्तावदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरे । साथै, सत्ता साझेदारीमा कांग्रेसको चित्त बुझाउने वचन पनि दिए । त्यस भेटमा देउवाले स्पष्ट जवाफ दिएनन् । बरू अर्को एक कार्यक्रममा पुगेर उनले आफूसँग पर्याप्त संख्यामा सांसद नरहेकाले सत्ता समीकरणको खेलमा लाग्न नसकिने भन्दै शुभेच्छुकलाइ धन्यवाद दिए । 

देउवाबाट उत्साहजनक जवाफ नपाए पनि दाहाल यतिमै रोकिएनन् । फेरि पार्टी कार्यालय फर्किए स्थायी समिति बैठकमै नबसी गोप्य भेटघाटमै व्यस्त रहे । एकातिर स्थायी समितिको बैठक चलिरहँदा दाहाल जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठसँग एक घण्टा बिताए । प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएको दोस्रो दिन दाहालका यी सबै दौडधूप संसदीय अंक गणित आफ्नो पक्षमा पार्ने र ओलीको विस्थापन सुनिश्चित गर्नेमा केन्द्रित छन् । 

नारायणकाजी

अब बस्ने संसद बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने दाहालको तयारी छ । त्यसैले ओलीविरुद्ध थप घेराबन्दी गर्न र वैकल्पिक समीकरण तयार पार्न दाहालले ओलीतिर देखिएका नेकपाकै सांसद तान्नेदेखि कांग्रेस र जनता समाजवादीसँग गठबन्धन गर्नमै पूरा ध्यान लगाइरहेका छन् ।