राउटेबस्तीमै खोलिए विद्यालय,शिक्षकलाई विद्यार्थी खोज्नै सास्ती

फाल्गुन ११, २०७७

तीन दशकअघि राउटे बालबालिकालाई शिक्षामा पहुँच बढाउने भन्दै सरकारले राउटे बस्तीमै विद्यालय सञ्चालन गर्‍यो । डडेल्धुरामा दुईवटा राउटेबस्तीमै दुईवटा विद्यालय सञ्चालन गरिए । तर ती विद्यालयमा राउटेका बालबालिका न्यून मात्रै छन् । अधिकांश राउटे बालबालिका अहिले पनि विद्यालयबाहिर छन् । 

डँडेल्धुराको आमपानी गाउमा रहेको बीपी प्राथमिक विद्यालयका शिक्षक दानसिंह कठायत राउटेका बालबालिकालाई विद्यालय ल्याउन दैनिक बस्तीबस्तीमा पुग्छन् । राउटे बस्तीमा बालबालिकाको संख्या ८० जना छ । तर तीमध्ये अहिलेसम्म १५, २० जना बालबालिका पनि उनले विद्यालयमा भर्ना गराउन सकेका छैनन् । अहिले उनको दिनचर्या नै दैनिक राउटे बालबालिका खोज्दै भर्ना गर्नेमा बित्न थालेको छ । २०४६ सालमा राउटेकै बालबालिका अध्ययन गराउन यो विद्यालय खोलिएको थियो । 

सरकारले राउटे बस्तीमा दुईवटा विद्यालय सञ्चालन गरेको छ । परशुराम नगरपालिका क्षेत्रमा दुईवटा राउटे बस्ती छन् । राउटे समुदायमा चेतनाको कमीले बालबालिकालाई अभिभावकले विद्यालय जान प्रेरित गर्दैनन् । सरकारले २०४५ सालतिर राउटे सामुदायलाई जंगलबाट व्यवस्थित गर्न भित्रीमधेशका परशुराम नगरपालिकाको वडा नं.४ र १२मा छुट्टै बस्ती बनाएर बसाएको थियो । वि.सं. २०४६/०४७ सालतिर उनीहरुकै बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले राउटे गाउँमै विद्यालय खोलियो । डँडेल्धुराका दुई वटै राउटे बस्तीका विद्यालयमा राउटे बालबालिकाको विद्यालय भर्ना भने अत्यन्त न्यून हुने गरेको छ । पछिल्लो एक दशकयता यी दुवै विद्यालयमा अध्ययन गर्न आउने राउटे बालबालिकाको संख्या झनै घट्दै गएको छ । 

परशुराम नगरपालिका-१२ आमपानीको बीपी प्राथमिक विद्यालयका २० जना बालबालिका र परशुराम नगरपालिका-४ रज्यौडाको समैजी आधारभूत बिद्यालय रज्यौडामा २० जना राउटे बालबालिका भर्ना भएका छन् । विद्यालय भर्ना हुन छाडेर बालबालिका अभिभावकसागै काम गर्न जाने गरेका छन् । सरकारले पिछडिएका र लोपोन्मुख जातिका बालबालिकालाई विद्यालय भर्ना गर्न वर्षेनी ५/१० लाख  रकम खर्च गर्दछ । सरकारले रकम छुट्याउने मात्र नभई यस्ता बस्तीमा शिक्षाको महत्वका विषयमा चेतना विस्तार पनि गर्नुपर्ने खाँचो देखिएको छ ।