पेट्रोलको भाउ साढे दुई वर्षयताकै उच्च, भार भने उपभोक्तामाथि नै

फाल्गुन ११, २०७७

नेपालमा पेट्रोलको मूल्य साढे दुई वर्षयताकै उच्च भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार महिनामा झण्डै दोब्बर भएपछि त्यसको असर नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको असर उपभोक्तामा पर्न नदिन व्यवस्था गरिएको कोषलाई आयल निगमले चलाएको छैन । कोषमा ११ अर्ब रुपैयाँ राखेको निगमको ध्यान भाउ बढाउनमै केन्द्रीत छ ।

साउन १६ पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ थियो । त्यस्तै प्रतिलिटर डिजेल र मट्टितेलका लागि उपभोक्ताले ८८ रुपैयाँ तिरे पुग्थ्यो । सात महिना नपुग्दै प्रतिलिटर पेट्रोलमा १२, डिजेल र मटितेलमा ९ रुपैयाँ बढाइएको छ । उपभोक्ताले बजारमा अहिले प्रतिलिटर पेट्रोललाई १ सय १४, डिजल र मटितेललाई ९७ रुपैयाँ तिर्नुपर्छ । यो मूल्य साढे दुई वर्षयताकै उच्च हो । कोरोना महामारीले ठप्पजस्तै भएका क्षेत्र धमाधम सामान्य अवस्थामा फर्किने क्रममा माग बढेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिनहुँ बढ्दो क्रममा छ । मूल्य बढाउनकै लागि उत्पादक मुलुकले आपूर्ति घटाउन खोजिरहेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल अहिले ६३ अमेरिकी डलर छ । तर यही मूल्यका आधारमा उपभोक्ताले प्रतिलिटर १ सय १४ रुपैयाँ तिर्नुपर्ने अवस्था भने होइन । निगमले भारतीय आयल निगमसँग प्रतिलिटर ५४ रुपैयाँमा किन्छ र ५५ रुपैयाँ कर जोड्छ । यसबाहेक निगमले प्राविधिक नोक्सानी तथा प्रशासनिक र ह्रास खर्च पनि उपभोक्तासँगै उठाउँछ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकै आधारमा उपभोक्तामाथि भार नपरोस् भनेर निगमले सात वर्षअघि मूल्य स्थिरीकरण कोष सुरु गरेको थियो । बाहिर मूल्य बढेको अवस्थामा कोषबाट घाटा व्यहोर्ने भनिएको थियो । तर कोषमा ११ अर्ब रुपैयाँ राखेर निगमले उपभोक्तामाथि नै भार पारिरहेको छ ।   

महामारी र महामारीको दोहोरो चापबाट उपभोक्तालाई कसरी राहत दिने भन्दा पनि निगमले भारतमा भन्दा प्रतिलिटर ३५ रुपैयाँ घाटा रहेको देखाएर अझै मूल्य बढ्न सक्ने त्रास देखाइरहेको छ । सरकारी स्रोतसाधनबाट चलेको संस्थानको यस रवैयाले आफ्नो वस्तु वा सेवाको मूल्य बढाउने दाउ हेरेर बसेकाहरूलाई बहाना मिलेको छ ।