प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट भोलिदेखि

माघ १, २०७७

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण भोलि सुरु हुँदै छ । क्यान आईसीसीबाट निलम्बित छँदा राष्ट्रिय खेलकुद् परिषद्ले चार वर्षअघि सुरु गरेको प्रधानमन्त्री कप ५० ओभरको एक मात्र घरेलु प्रतियोगिता हो । नयाँ नेतृत्व आएपछि आफै आयोजना गर्न लागेको नेपाल क्रिकेट संघ क्यानको यस पहिलो प्रयासमा, मुख्य प्रायोजक भने भेटिएको छैन । क्यानले बजेट अभावकै कारण पुरस्कार राशि पनि घटाएको छ ।

कोरोना महामारीका कारण गत वर्ष प्रधानमन्त्री कप भएन । दुई वर्षको अन्तरालपछि घरेलु क्रिकेटमा एक दिवसीय प्रतियोगिता फर्किएको छ । काठमाडौँका कीर्तिपुर र मूलपानी मैदानमा खेल हुनेछन् । दस टिमको सहभागिता रहने प्रतियोगिता सुरुमा राउन्ड रोबिन हुने भनिए पनि क्यानले फेरि दुई समूहमा विभाजन गरेर खेलाउने भएको छ । क्यान आफैँले गरेको प्रधानमन्त्री कपमा अहिलेसम्म मुख्य प्रयोजक भेटिएको छैन । आईसीसीले सदस्य राष्ट्रलाई उपलब्ध गराउने रकम प्रक्रियामै छ । राष्ट्रिय खेलकुद परिषदले महिलालाई १५ लाख र पुरुषलाई ४० लाख गरी प्रधानमन्त्री कपका लागि ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । क्यानले यो रकम पनि चैत-वैशाखमा मात्र पाउँछ । त्यसैले यसपटक प्रधानमन्त्री कपका लागि क्यानलाई रकम जोहो गर्न निकै कठिन भएको छ ।  

बजेट कम हुँदा पुरस्कार राशि पनि घटाइएको छ । यसपटक विजेता टोलीलाई पाँच लाख र दोस्रो हुनेलाई दुई लाख ५० हजार रुपैयाँ दिने क्यानको तयारी छ । अघिल्लो संस्करणको विजेता नेपाल पुलिस क्लबले २० लाख र उपविजेता त्रिभुवन आर्मीले १० लाख पुरस्कार पाएका थिए । शुक्रबार कीर्तिपुर मैदानमा आर्मी र गण्डकी प्रदेशबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ । 

तीन विभागीय र सात प्रदेशका टिमलाई दुई समूहमा विभाजन गरिएको छ । शुक्रबारबाट कीर्तिपुर र मूलपानी मैदान गरी दिनमा समूह चरणका दुई खेल हुनेछन् । सेमीफाइनल र १७ गते हुने फाइनल खेल भने कीर्तिपुरमै हुनेछ ।