सुदूरपश्चिममा भुवापर्वको रौनक, महाभारतकालीन सभ्यताको झल्को

माघ १, २०७७

थारु समुदायको बाहुल्यता रहेको पश्चिमका जिल्लामा माघीसँगै उता, सुदूरपश्चिमका पहाडी क्षेत्रमा भुवापर्व मनाइँदै छ । असत्यमाथि सत्यको जितको प्रतिक मानिने यो पर्वले महाभारतकालीन सभ्यतालाई झल्काउँछ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा खासगरी भुवापर्व मनाउने गरिन्छ । महाभारत युद्धमा पाण्डवको विजयपछि गरिएको उत्सवको सम्झनामा यो पर्व मनाउने गरिन्छ । पहाडी क्षेत्रमा मात्रै मनाइने यो पर्वलाई अहिले तराई झरेकाले पनि निरन्तरता दिन थालेका छन् । युद्धमा विजयपछि पाण्डवहरुले भुवा नाचेको किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा यस पर्वलाई उल्लासको रुपमा मनाइन्छ । यो नाचमा महामभारतकालीन सभ्यता, कला र युद्धकला प्रदर्शन गरिन्छ । यसले प्राचिन संस्कृतिको संरक्षणमा सहयोग पुगेको संस्कृतिविद्को भनाइ छ । 

भूमिको रक्षाका लागि भएको युद्ध पूर्वको अभ्यासमा ढाल र तरवारको प्रयोग गरिएको हुनाले यसलाई भुवा नाच भन्ने गरिएको संस्कृतिका अध्येयता बताउँछन् । पुसे औंशीदेखि पूर्णिमासम्म मनाइने परम्परागत युद्धको झल्को दिने भुवापर्व छिमेकी भारतको कुमाउ, गडवाल क्षेत्रमा पनि मनाउने गरिन्छ ।