पश्चिम नेपालका थारु बस्ती माघीमय

माघ १, २०७७

पश्चिम नेपालका थारु बस्तीमा यतिखेर माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने यो पर्वमा टोलटोलमा नाचगान र मौलिक भेषभुषाको प्रदर्शन गरिन्छ । माघ १ गतेदेखि एक सातासम्म थारुबस्ती माघीमय हुन्छन् ।

पश्चिम नेपालका कैलाली, कञ्चनपुर, कपिलबस्तु, दाङ, बााके, र बर्दियाका थारु समुदायले माघी पर्वलाई यसरीनै  निकै उत्साह र उमंगका साथ मनाउने गर्दछन् । वर्षभरीको ठुलोचाड भएकाले माघी पर्वमा थारु समुदामा ऋण काडेरै भए पनि मिठो भोजन खाने र नाचगान गरी रमाइलो गर्ने चलन छ । थारु समुदायले माघी पर्वलाई पुराना विकृति, विसंगतिलाई  बिर्सेर नयाँ र राम्रो कामको थालनी गर्ने नयाँ वर्षको रुपमा समेत ग्रहण गर्छन् । यस पर्वमा थारु समुदायका सदस्यले वर्षभरको गाउँको योजना बनाउने, गाउँको टोली नेता अर्थात् भलमन्सा चुन्ने, दाजुभाइबीच अंशवण्डा गर्ने लगायतका कामको छिनोफानो गर्छन् । 

माघ महिनालाई थारु समुदायले शुभ महिनाका रुपमा लिने गरेकाले पनि नया वर्षको ठूलो पर्वका रुपमा माघी मनाएका हुन् । थारु समुदायका सदस्यलाई माघ महिनामा गरिने सम्पूर्ण काम  सफल हुने जनविस्वास छ ।